धरान : प्रसिद्ध कवि नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठको नेतृत्वमा आएको गण्डकी प्रदेश पोखराका कवि, साहित्यकारहरूलाई आज बिहान धरानमा सङ्घको सुनसरी जिल्ला समितिले स्वागत गरेको छ ।
सङ्घको कोशी प्रदेश समितिद्वारा शनिवार विराटनगरमा आयोजित कोसी-गण्डकी अन्तर प्रदेश साहित्य संवादमा कार्यक्रममा सहभागी हुन आएका १० जना साहित्यकार धरान एर्व सप्तकोसीको पर्यटन अवलोकनका लागि आइतबार बिहान धरान आइपुगेका हुन् ।
कवि, साहित्यकारको टोलीमा नेपाली लेखक सङ्घको केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ सहित केन्द्रीय सचिव डा.गणेश शर्मा, गण्डकी प्रदेश अध्यक्ष इश्वरमणि अधिकारी, कास्की अध्यक्ष रिता अधिकारी (रितु), गण्डकी प्रदेश सदस्य अमृत क्षेत्री, कास्की सचिव प्राञ्जल, कास्की सदस्य रोशन तिमिल्सिना, तारानाथ शर्मा, इसा शाह, संजिव पौडेल थिए ।
भानुचौक स्थित धरान किचेनमा भएको परिचयात्मक साहित्यिक भेटघाटमा केन्द्रीय अध्यक्ष श्रेष्ठले पोखरा र धरानको भौगोलिक, सांस्कृतिक तथा विकासको गतिमा समानता रहेको बताउँदै दुवै सहरको साहित्यिक गतिविधिमा त्यसले प्रत्यक्ष प्रभाव पार्दै आएको बताए ।
उनले २०३० को दशकमा देखिएको यो समानता समयको अन्तराल सँगै नयाँ पुस्तामा हस्तान्तरण हुँदै गएको अनुभव सुनाए । उनले नेपाली साहित्यको इतिहासमा लेखक, साहित्यकारको अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पहिलो पटक २००८ सालमा नेपाली लेखक सङ्घ स्थापित भएको बताए ।
२०१७ सालमा राजा महेन्द्रले तत्कालीन अध्यक्ष गोविन्दबहादुर मल्ला गोठालेलाई लेखक सङ्घ विघटन गर्न आदेश दिएतापनि ‘उहाँले त्यो आदेशलाई अस्वीकार’ गरेको बताउँदै भने ‘त्यसै कारण उहाँको भाइ विजय मल्ला प्रज्ञा प्रतिष्ठानका उपकुलपति बने पनि उहाँलाई जीवन पर्यन्त अवसरबाट वञ्चित गरियो ।’
कवि, साहित्यकारको अधिकारका लागि सङ्घर्ष गर्दै आएको लेखक सङ्घलाई यसको उद्देश्य अनुसार पछिल्लो समय पुनः सक्रिय बनाउन नयाँ पुस्ताको दायित्व भएकाले यसको पुस्तान्तरण हुँदै गएको उनको भनाई थियो ।
अग्रज लेखक साहित्यकार गिरिरजा आचार्यले नेपाली साहित्य लेखनमा पञ्चायती कालरात्रिले पारेको प्रभाव अहिले सम्म नहटेको बताउँदै भने ‘नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाले पुराएको योगदानको तुलनामा उहाँको साहित्यको विश्लेषण र अध्ययन हुन सकेको छैन ।’
उनले बिपीको साहित्यका बारेमा चर्चा, परिचर्चा अध्ययन र अनुसन्धान गर्न अहिले पनि लेखक साहित्यकारहरू आनाकानी गरिरहेको देखिने अनुभव सुनाए ।
‘धरानमा एक छिन’ शीर्षकको भेटघाटमा धरानको ऐतिहासिक, पर्यटकीय एवं साहित्यिक गतिविधिका बारेमा लेखक सङ्घ सुनसरीका अध्यक्ष वरिष्ठ पत्रकार हर्ष सुब्बा र सङ्घका प्रदेश सदस्य कृष्ण अधिकारीले संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रम सङ्घका सुनसरी सचिव विजय घिमिरेले सञ्चालन गरेका थिए ।
गण्डकी प्रदेश पोखराबाट आएको कवि साहित्यकारको टोली धरानको संक्षिप्त अवलोकन पछि सप्तकोसीको जलयात्रा गर्दै वराहक्षेत्र दर्शनका लागि प्रस्थान गरेका थिए ।




































































