धरान : धरानका पूर्व लागुऔषध प्रयोगकर्ताहरूले नयाँ संस्था स्थापना गरेका छन् । यसै साता संस्था दर्ता गरिएको समूहले पहिलो कार्यक्रमको रूपमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

लागुऔषध प्रयोगकर्ताहरूका लागि धरानमा १३ वटा सुधार केन्द्रहरू सञ्चालनमा छन् । समूहमा सुधार केन्द्रबाट परिवारमा पूनःस्थापित पूर्व प्रयोगकर्ताहरू सङ्गठित भएका हुन ।

संस्था दर्ता भए लगत्तै पहिलो कार्यक्रमको रूपमा जेठ ९ र १० गत अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष सरल श्रेष्ठले बताए ।

प्रतियोगिता धरान-८ स्थित हाम्रो फुटसलमा सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा दार्जिलिङ, सिक्किम, झापा, मोरङ र धरानका पूर्व लागुऔषध प्रयोगकर्ताहरूको १६ वटा टिम सहभागी हुनेछ ।

प्रतियोगितामा महिला पूर्व लागुऔषध प्रयोगकर्ताको २ वटा टिम सहभागी हुनेछ ।

प्रतियोगिता विजेतालाई १ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेताले ५० हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने छ ।

महिला विजेतालाई गुरुकुल पुनर्स्थापना केन्द्रले १५ हजार नगद सहित प्रमाणपत्र र मेडल प्रदान गर्ने भएको छ ।

समूहका सचिव रोशन रेग्मीले पूर्व प्रयोगकर्ताहरूलाई एकजुट बनाई दुव्र्यशन विरुद्ध जनचेतना बढाउँदै सुन्दर समाज निर्माणमा टेवा पुर्‍याउन समूह संस्थागत रूपमा दर्ता गरिएको बताए ।