धरान : किरात राई सांस्कृतिक कलाकार सङ्घले सांस्कृतिक, प्रतीकहरू भेषभुषा, फेटा, ढोल झ्याम्टा, चिण्डो लगायतको गलत प्रयोग बढेकोमा चिन्ता प्रकट गरेको छ ।
गलत प्रयोग र विचलन विरुद्ध सचेतना अभियान सुरु गर्ने जानकारी दिन मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सङ्घका केन्द्रीय अध्यक्ष शालिक सतासक राईले संस्कृतिका प्रतीकहरूको सही प्रयोग हुनुपर्नेमा जोड दिए ।
उनले भने ‘प्रवित्र चिण्डोको प्रतीकलाई कतिपयले साडीको पारीमा प्रयोग गरेको भेटियो, यसले प्रवित्र चिण्डोको अपमान हुन्छ, चिण्डोको प्रतीक पोसाकमा कम्मरदेखि माथि मात्रै राख्नुपर्छ ।‘
उनले यस्तो गलत प्रयोगप्रति सचेतना बढाउन गत वर्ष काठमार्डौबाट अभियान सुरु गरिएको बताउँदै भने ‘यसपालि प्रदेश १ भरीका सबै जिल्लामा अभियान सञ्चालन गरिने छ ।’
कलाकार सघले नजिकै आइरहेको साकेला उभौलीलाई लक्षित गरेर सचेतना अभियानको सुरुवात गर्न लागेको उनले बताए । यसपालि सकेला उभौली ज्येष्ठ १० गते सुरु हुँदैछ ।


































































