धरान : किरात राई सांस्कृतिक कलाकार संघको छैटौँ राष्ट्रिय सम्मेलनले किरात राई भाषा संस्कृतिका अध्येता शालिक शतासक राईलाई अध्यक्ष चयन गरेको छ ।

सम्मेलन धरानमा २ दिन सम्म चलेको थियो । सम्मेलनले उनको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मतीबाट गठन गरेको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

समितिका उपाध्यक्ष रोशन चाम्लिङ राई, शुशिला राई र नविन राई छन् । महासचिव पदम थुलङ राई, सचिव मुकेश राई, सुखकला राई, डि.वि. राई छन् । कोषाध्यक्ष मेनुका राई, सहकोषाध्यक्ष खुसेनिछो चाम्लिङ राई चयन भएका छन् ।

सदस्यहरू राज के. राई, अनुका राई, अर्जुन कुमार राई चयन भएका छन् । संघको विदेशमा समेत गरी १३ वटा शाखा रहेकामा कार्यसमितिमा ११ जिल्लाका प्रतिनिधिहरू रहेको बताइएको छ ।

सम्मेलनले धरान घोषणापत्र जारी गरेको छ । प्रदेश नं १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका सांस्कृतिक, राजनीतिक तथा रचनात्मक रूपमा आन्दोलन गर्ने घोषणापत्रमा उल्लेख छ ।

किरात मौलिक गीत संगित, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्दै किराती समुदायसँग सामरिक महत्त्व राख्ने गढी, कोट ऐतिहासिक स्थल, संस्कृति, मुन्धुमी संस्कारहरुलाई संरक्षण, सम्बद्र्धन, प्रवर्द्धन र अध्ययन अनुसन्धान गरिने छ ।

६ बुँदे घोषणापत्रमा भनिएको छ ‘किराती संस्कृतिलाई आत्मसात गर्दै उन्नत संस्कृतिको निर्माण गरिने छ ।’ किराती संस्कृतिको क्षेत्रमा काम गर्ने स्रष्टाहरुको खोज गरी उनीहरूको जीवनी समेटिएको पुस्तक प्रकाशन गरिने छ ।

मौलिक बाजा, भेषभूषा संरक्षण कार्य सहित जिल्ला कार्यसमितिहरूमा अन्र्तक्रिया, प्रशिक्षण सञ्चालन गर्ने र गराइने छ । सम्मेलन धरानको भानुचोकमा जेठ १३ गते किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले उद्धघाटन गरेका थिए ।

पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष शालिक शतासक राईले संघ किरात राई जातीको भाषा, धर्म, संस्कार, संस्कृति र ऐतिहाशिक महत्त्वका गढीहरूलाई संरक्षण, सबद्र्धन गर्ने गरी सम्पूर्ण किरात राई कलाकर्मी, परम्परागत संस्कृतिकर्मीहरूको संगठित संस्था भएको बताए ।

उनले भने ‘किरात इतिहास, संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचानको आधारमा प्रदेश १ को नामाङ्कन हुनुपर्ने आन्दोलनमा संघको ऐक्यबद्धता छ ।’ किरात राई सांस्कृतिक कलाकार संघको स्थापना २०६३ सालमा भएको हो ।