धरान : नेपाली काँग्रेसका नेता सङ्घीय प्रतिनिधिसभा सदस्य पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा राजनीतिक स्थिरता नभई विकासका काम अघि नबढ्ने बताएका छन् ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठन प्रक्रिया अघि बढाएको तथा जनता समाजवादी पार्टी नेपालको विभाजनको सन्दर्भलाई सङ्केत गर्दै अस्थिरता बढेको पार्टीहरूमा पनि आन्तरिक एकता नदेखिएको बताएका हुन् ।

काँग्रेस धरान नगर समितिद्वारा आज बिहीबार दिउँसो आयोजित कार्यकर्ता भेटघाटमा नेता कार्कीले भने, ‘आन्तरिक एकता नभई राष्ट्रियता बलियो नहुने, राष्ट्रियता बलियो नभई स्थिरता नहुने र स्थिरता नभई देशको विकास हुँदैन ।’

मुलुकको वर्तमान स्थितिमा आन्तरिक एकता, राष्ट्रिय र स्थिरता कायम गर्न सक्ने पार्टी नेपाली काँग्रेस मात्र भएकोले पार्टीलाई त्यस दिशामा अघि बढाउन आवश्यक भएको उनले बताए ।

सङ्घीय सांसद कार्कीले भने, ‘काँग्रेस खतम भयो भने पनि यो देशको सबै भन्दा ठुलो, जिम्मेवार र मुलुकलाई निश्चित दिशा दिन सक्ने पार्टी काँग्रेस नै हो ।’

तसर्थ काँग्रेस नेता, कार्यकर्ता आन्तरिक एकता बलियो बनाउने काम गरेर देखाउन जरुरी भएको उनले बताए । नेता कार्कीले कुरा भन्दा काम गरेर देखाउनु पर्ने अवस्था आएको स्पष्ट गरे ।

उनले भने, ‘हिजोआज भाषण कसैले सुन्दैन, सुने पनि घर पुगेपछि आफूले के कुरा सुनेँ भन्ने थाहा हुँदैन ।’ कार्यकर्ताले होस या आम जनताले हिजोआज काममा मात्र विश्वास गर्ने भएका छन् । कुरो एकातिर काम अर्कोतिर गर्ने कुरा छुट्याउन सक्ने उनीहरू भैसकेको कार्कीको भनाई छ ।

काँग्रेस धरान उपमहानगर सभापति श्याम पोखरेलले धरानको राजनीतिक अवस्था तथा धरानको विकास निर्माणमा सङ्घीय सरकारबाट सहयोग जुटाउने कुरामा पूर्व मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । उनले विशेषतः धरानको खानेपानी समस्याको समाधानका लागि सांसद कार्मीबाट विशेष भूमिकाको अपेक्षा प्रकट गरे ।