विराटनगर : विराटनगरको बरगाछी-रानी सडक सौन्दर्यीकरणमा बैङ्क तथा वित्तीय संस्थाहरूको साझेदारी कार्यान्वयनमा आएपछि आउँदो हप्ताबाट परियोजना सुरु हुने भएको छ ।
महानगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित तथा विकसित सहर बनाउने अभियानको मुख्य आधारको रूपमा सडक सौन्दर्यीकरण परियोजना बनेको हो ।
बैङ्कहरूको प्रतिबद्धता अनुसार रकम जम्मा हुन थालेपछि परियोजना कार्यान्वयन प्रक्रिया सुरु भएको महानगरपालिकाले जनाएको छ ।मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई बैङ्कहरूले सोमवार रकमको चेक हस्तान्तरण गरेका छन् । पहिलो चरणमा चार वटा बैङ्कले ७ लाख ५० हजार रकम जम्मा गरेका छन् ।
बैंकर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष सन्तोष बुढाथोकी सहितको टोलीले महानगरपालिका कार्यालयमा चेक हस्तान्तरण गरेका हुन ।
एनएमवी बैङ्कका प्रदेश प्रमुख समेत रहेका बुढाथोकी, एनआईसी बैङ्कका हिरा पौडेल, एनआईएमवीका राजीव गजुरेल, नेपाल बैङ्कका सूर्यप्रकाश भट्ट, ग्लोबल आइएमई बैङ्कका सुलभहरि जोशी सहितले बैङ्कका तर्फबाट चेक हस्तान्तरण गरे ।
सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम महानगरले दुई महिनाअघि बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष बुढाथोकीको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरेको थियो ।
समितिले लामो अध्ययन गरी फूल र बिरुवाको जात, लागत अनुमान सहित महानगरपालिकालाई प्रतिवेदन बुझाएको थियो । सोही अनुसार सौन्दर्यीकरणको प्रक्रिया सुरु भएको मेयर कोइरालाले बताए ।
उनले भने ‘विराटनगर बनाउने दायित्व हामी जनप्रतिनिधि र महानगरको मात्रै होइन, विराटनगरमा कार्यालय भएका बैङ्कको सामाजिक उत्तरदायित्व यस पटक सडक सौन्दर्यीकरणमा लगानी भएको हो ।’
५ किलोमिटर दुरीको बरगाछी-रानी सडकमा ४६ वटा मेडिएम डिभाइडर सौन्दर्यीकरण सुरु गरिएको संयोजक पुनमकुमार दाहालले बताए । यसको बजेट ५५ लाख अनुमान गरिएको उनको भनाई छ ।
महानगरपालिकाले गठन गरेको समितिले ‘क’ वर्गका बैङ्कले २ लाख, ‘ख’ वर्गकाले १ लाख ५० हजार, ‘ग’ वर्गकाले १ लाख र ‘घ’ वर्ग र लघुवित्त संस्थाहरूले ५० हजार रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।
विराटनगरमा ४२ वटा बैङ्क तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन् । सौन्दर्यीकरणमा सबै बैङ्क सहभागी हुने एसोसिएसनका अध्यक्ष बुढाथोकीले बताए ।
परियोजनालाई पारदर्शी बनाउन उद्योगी, समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । समितिले जनसहभागिता समेत जुटाएर आउँदो साता देखी परियोजना अघि बढाउने छ।