इटहरी : कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (परशुराम) लाई मुख्यमन्त्री केदार कार्कीले स्पष्टीकरण सोधेका छन् । सामाजिक विकास मन्त्री समेत रहेका मुख्यमन्त्री कार्कीले वैशाख २३ गते बस्नेतलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएका हुन् ।

२०७८ चैत २२ गते च.नं. १७१९ को पत्रबाट मन्त्रिपरिषद्‌को बैठकको निर्णयले पद बहाली भए पनि २०७९ मङ्सिर ४ को प्रदेश सभा निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण समेत दाखिला गरेको पाइएको बताइएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(ड), ऐ ऐनको दफा १३ तथा प्रदेश खेलकुद ऐन, २०७६ को दफा २७ प्रतिकुल तपाईँको पदले निरन्तरता पाउने हो होइन ? भनी स्पष्ट पार्न निर्देशन गरिएको छ । अन्यथा नियमानुसार हुने जनाएको छ ।

सोही अनुसार प्रदेश निर्वाचन कार्यालयले पनि बस्नेत मोरङ जिल्ला क्षेत्र नम्बर ६ (२) मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) राजनीतिक दलको तर्फबाट उम्मेदवार भएको स्पष्ट पारेको छ ।

मुख्यमन्त्रीले उल्लेख गरेको प्रदेश खेलकुद ऐनको दफा २७ मा उपसचिव स्तरको पारिश्रमिक पाउने उल्लेख छ । सोही  दफा उल्लेख गर्दै सङ्घीय सरकार मातहत रहने प्रदेश सभा सदस्य निर्वाचन ऐनको दफा १२ (ड) को उम्मेदवारको योग्यता सम्बन्ध महलमा कुनै लाभको पदमा बहाल नरहेको उल्लेख छ । दफा १३ मा भने दफा १२ अनुसार अयोग्य रहेको र कुनै पदमा बहाल रहेर पारिश्रमिक पाउने व्यक्ति उम्मेदवार हुन नपाउने उल्लेख छ ।

कानुन अनुसार बस्नेत उम्मेदवार भएको बखत कुनै लाभको पदमा बहाल रहन नपाउने बताइएको छ । तर बस्नेत हालका मुख्यमन्त्री कार्की सँग निर्वाचन प्रतिस्पर्धामा पराजित उम्मेदवार हुन् । त्यस बखत बस्नेतको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको देखिन्छ।

पूर्व मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते बस्नेतलाई बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए । पछि राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारबाट २०७८ चैत २२ गते पदमुक्त भए । त्यसपछि निर्वाचन लडेका बस्नेत २०८१ वैशाख १७ गते उच्च अदालतको फैसला मार्फत सदस्य सचिवमा पुनर्बहाली भएका हुन् ।

khelkud-spastikaran