धरान : तेश्रो सुवास स्मृति सुपर-८ फुटबल कपको उपाधि अन्ततः धरान-१७ ले चुमेको छ । आइतबार वर्षाका साथै अँध्यारो भएकोले फाइनल खेल निर्णय नभई स्थगित भएको थियो ।

आज सोमवार पुनः भएको फाइनल खेलमा धरान १७ ले टाइब्रेकरमा धरान १४ लाई हराउँदै उपाधि चुमेको हो । टाइब्रेकरमा धरान १७ ले धरान १४ लाई ५-४ गोलले पछि पार्‍यो ।

उपाधिसँगै धरान १७ ले २ लाख ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र हात परेको छ । धरान १४ ले उपविजेतामा चित्त बुझाउँदै १ लाख ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

निर्धारित ५० मिनेटको फाइनल खेलमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि टाइब्रेकरमा धरान १७ का मिलन राई, कृष्ण राई, फुर्वा तामाङ,दिनेश खडका, पासाङ तामाङले गोल गरेका थिए ।

धरान १४ का विपिन श्रेष्ठ, आशिष् पुरी, विनोद राई, विवेक राईले गोल गरे भने आमोस लिम्बुको प्रहार आउट भयो ।

खेलको म्यान अफ दि म्याच धरान १४ का मनिश लिम्बु घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान १७ का कृष्ण राई घोषित भई नगद १० हजार प्राप्त गरे ।

बेस्ट गोलकिपर धरान १७ का आशिष् कार्की, बेस्ट डिफेन्स धरान १७ का प्रज्वल थापा, बेस्ट मिडफिल्डर धरान १४ का विवेक राई, बेष्ट स्ट्राइकर धरान १४ का विनोद राई र बेस्ट कोच धरान १७ का अर्जुन राई, राईजिङ प्लेयर धरान ११ का समिप राई घोषित भए । उनीहरूले जनही नगद ५  हजार ५०० प्राप्त गरे ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबले आयोजना गरेको हो ।

champion-dharan-17