धरान : हाम्रो धरान भेट्रान फुटबल कप तेस्रो संस्करणको उपाधि रारा भेट्रान क्लब राजारानीले चुमेको छ ।

धरान रङ्गशालामा आज शनिवार भएको फाइनल खेलमा २-० गोलले धरान भेट्रान क्लबलाई पराजित गर्दै रारा भेट्रान प्रतियोगिताको उपाधि चुमेको हो ।

उपाधिसँगै रारा भेट्रानले १ लाख नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र हात परेको छ । धरान भेट्रानले उप विजेतामा चित्त बुझाउँदै ६० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र ग्रहण गरेको छ ।

फाइनल खेलमा रारा भेट्रानका देउ बहादुर लिम्बुले गरेको २ गोल निर्णायक बन्यो । सोही गोलले रारा भेट्रानलाई उपाधिको हकदार बनाएको हो ।

खेलको म्यान अफ दि म्याच रारा भेट्रानका देउ बहादुर लिम्बु नै घोषित भए । उनले नगद २५ सय प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान भेट्रानका अशोक लिम्बु घोषित भई नगद ५ हजार प्राप्त गरे । बेस्ट गोलकिपर राराका महेन्द्र घिमिरे, बेस्ट डिफेन्स राराका सुरज श्रेष्ठ, बेस्ट मिडफिल्डर रारा भेट्रानका सुमन श्रेष्ठ, बेष्ट स्ट्राइकर धरान भेट्रानका सतिश केसी र बेस्ट कोच राराका युबिन गुरुङ घोषित भए । उनीहरूले जनही नगद ३ हजार प्रदान गरियो ।