धरान : नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य, सांसद अर्जुननरसिंह केसीले संसद्को सबै भन्दा ठुलो दल भएकोले काँग्रेस अब अन्य पार्टीका कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा अलमलिनु नहुने बताएका छन् ।

आज शनिवार वीपी चिन्तन प्रतिष्ठान धरानको पाँचौँ अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेता केसीले भने ‘काँग्रेस संसद्को पहिलो पार्टी हो, कोहीले एमालेसँग मिलेर जाने ओली जीलाई प्रधानमन्त्री बनाउने, कसैले माधव नेपाललाई प्रधानमन्त्री बनाउने भन्ने कुरा गरेर अब अलमलिनु हुँदैन ।’

काँग्रेसले अब संविधान संशोधन गर्ने एजेण्डाको नेतृत्व गरेर अघि बढ्दै राष्ट्रिय सरकार बनाउने पहल गर्नुपर्ने उनले बताए । नेता केसीले भने ‘मुलुक ६७ वर्षमा छैटौँ संविधानमा चलिरहँदा यसमा भएको ‘समानुपातिक’ निर्वाचन व्यवस्थाले अस्थिरता सिर्जना गरेको छ ।’

संविधान संशोधनबाट समानुपातिक प्रणाली हटाएर मुलुकमा स्थिर सरकार बनाउने सहितको निश्चित एजेण्डा लिएर काँग्रेस अघि बढ्नु पर्ने उनले बताए ।

नेता केसीले जुन उद्देश्यले समानुपातिक व्यवस्था गरिएको थियो त्यो भावना अनुसार कार्यान्वयन नभएको बताउँदै भने ‘समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको स्पष्ट बहुमत नआउने देखियो ।’

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री उचित नहुने पनि बताए । त्यसले मुलुकमा शक्ति अभ्यासको नयाँ द्वन्द्व निम्त्याउने नेता केसीको भनाई छ ।

काँग्रेसमा वैचारिक बहस, मुलुकको भविष्य निश्चित गर्ने चिन्तनको आवश्यकता बढेको बताउँदै उनले भने ‘काँग्रेसमा वैचारिक बहस र चिन्तन गर्ने परिपाटी छैन ।’ उनले हिजो पनि नेताहरू बिच मतभेद थियो । तर त्यो वैचारिक थियो ।

उनले भने ‘अहिले त्यो छैन एक जना एकातिर दोैडिरहेको छ अर्को तिर ।’ सत्ताको कुरामा मात्र चिन्ता गरिरहने ‘दुई चार जनाको गिरोहले पार्टी चलाएको’ उनले आरोप लगाए । अब काँग्रेसका सबै एक ठाउँमा उभिएर खुला वैचारिक बहस, चिन्तन गरिनुपर्ने नेता केसीको भनाई छ ।

उनले भने ‘काँग्रेसमा सत्य कुरा गर्ने आवश्यकता छ ।’ मुलुकलाई आमूल परिवर्तन गरिनु पर्छ । त्यसको लागि काँग्रेसका फरक विचार सबै एकै ठाउँ बसेर ५ वटा एजेण्डा निश्चित गरिनु पर्ने उनले बताए । अन्तर्राष्ट्रिय नीति, राष्ट्रिय सुरक्षाको सवाल, भ्रष्टाचार निर्मलीकरण, अर्थतन्त्र प्रमुख एजेण्डा भएको उनको भनाई थियो ।

काँग्रेसमा बिपीकालीन अन्तर्राष्ट्रिय नीतिको बारेमा चिन्तन पटक्कै नभएको बताए । अब पहिलेको जस्तो अवस्था नभएको बताउँदै नेता केसीले भने ‘बदलिदों अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिले मुलुकको समग्र पक्षमा प्रभाव पार्ने अवस्था छ ।’ त्यसैले अन्तर्राष्ट्रिय राजनीतिक शक्तिको अवस्था बुझेर अघि बढ्नु पर्ने चिन्तन जरुरी भएको उनले बताए ।

वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष डा.आनन्द आचार्यले काँग्रेसको उदासीन अवस्थामा नयाँ गति ल्याउन नयाँ चमत्कारी विचारमा बहस जरुरी भएकोले त्यसको नेतृत्व गर्न नेता केसीलाई आग्रह गरे ।

कार्यक्रममा काँग्रेस प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सहमहामन्त्री खड्ग फागो, जिल्ला अध्यक्ष केदार भण्डारी, सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महिला सङ्घ जिल्ला सभापति विजया कटवाल, धरान नगर अध्यक्ष श्याम पोखरेल, श्यामा रेग्मीले आफ्ना धारणा राखेका थिए ।

अधिवेशनले प्रतिष्ठानको नयाँ अध्यक्षमा श्यामा रेग्मीलाई चयन गरेको छ ।

BP-chintan-KapuriNews