चतरा : प्राचीन हरिद्वार चतरामा चलिरहेको महाकुम्भ भेलामा आज शनिवार अरू दिन भन्दा धेरै भीड थियो । कुम्भमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरूको आगमनले पनि आकर्षण बढेको छ ।

कुम्भ स्नानका लागि आउनेहरूका लागि आज अर्को आकर्षण पनि थिए नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । 

दिउँसो १ बजे चतराधाम आइपुगेका अध्यक्ष ओली पहिलो दृष्टिमा जगतगुरु बालसन्त मोहन शरण देवाचार्यका लागि आकर्षणको केन्द्र बने । 

अध्यक्ष ओलीले कुम्भस्नान गरेको हेर्न चाहने र उनीसँगै कुम्भस्नान गरेको फोटो खिच्न चाहनेहरूको चाहाना भने पुरा हुन सकेन । उनी महाकुम्भ स्थल आए पनि कुम्भ स्नान गरेनन् ।

बालशन्त महाराजको प्रवचन पण्डालमा भएको स्वागत कार्यक्रम अध्यक्ष ओलीले आफ्नो सम्पूर्ण तनमन र  ध्यान सुखी नेपाली, समृद्ध नेपाल बनाउने लक्ष्यमा केन्द्रित रहेको बताए । उनले भने ‘मलाई सम्पत्ति कमाउने कुनै लोभ लालच छैन ।’

उनले देश, जनता र मानव कल्याणका निम्ति समर्पित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यान केन्द्रित रहेको बताए । उनले सम्पत्ति कमाउने कुनै लोभ लालच नभएको भन्दै आफूसँग केही पनि धन सम्पत्ति नरहेको उल्लेख गरे ।

अध्यक्ष ओलीले कोसी क्षेत्र सप्तऋषिहरूले तपस्या गरेको पवित्र तपोभूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको विकासका निम्ति सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चतराधाम कुम्भ मेलामा अहिले सम्म १२ लाख भक्तजनले स्नान गरेको आयोजक समितिले जनाएको छ । गएको चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला यही वैशाख २८ सम्म चल्नेछ ।

KP-oli-Kumba-mela