धरान : धरानको फुटबल प्रतियोगिताहरूमा थप नयाँ गोल्डकप फुटबल पनि २०८१ नयाँ वर्ष देखी थपिने भएको छ ।

पानवारी फुटबल क्लबको आयोजनामा प्रथम पानबारी गोल्डकप फुटबल प्रतियोगिता २०८१ वैशाख २२ देखि २९ गते हुने भएको छ। क्लबको आयोजना र पानवारी सामुदायिक वन उपभोक्ता समूह धरानको सह-आयोजनामा हुने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्।

प्रतियोगितामा पानवारी फुटबल क्लब, केएफसी मोरङ, बुल्स ११ इटहरी, योङ ब्वाइज तरहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लब, आरआईएफसी काठमाण्डौंलाई आमन्त्रण गरिएको छ ।

प्रतियोगिताको विजेता टिमलाई १ लाख ११ हजार १११ रुपैयाँ सहित रनिङ कप प्रदान गरिने छ । उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

व्यक्तिगत बिधातर्फ उत्कृष्ट खेलाडीले ७ हजार, हाई स्कोररले ५ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्स, मिडफिल्डरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट कोचले ५ हजार, म्यान अफ द म्याचले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता तयारीको क्रममा शनिवार आयोजित एक कार्यक्रम बिच कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले आयोजक पानवारी फुटबल क्लबको कार्यालय समेत उद्घाटन गरेका छन् ।

उनले नेपाली फुटबललाई विश्व फुटबलमा उभ्याउन एन्फाले प्रयत्न गरिरहेको बताए । नयाँ फुटबल प्रतियोगिता थपिदैं गएकोमा खुसी व्यक्त गर्दै उनले यसबाट खेलाडीहरू खारिने र प्रतिभाशाली खेलाडीलाई अगाडि आउन अवसर मिल्ने कुरा बताए ।

क्लबका अध्यक्ष कृष्णकुमार राईले पानबारी फुटबल क्लब गठन भएको एक वर्ष पनि नपुग्दै विधिवत् रूपमा दर्ता भएर अन्तर्राष्ट्रिय स्तर सम्म सहभागिता जनाउन सफल भएको बताए ।