धरान : नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले एमालेको प्रभावशाली राष्ट्रिय राजनीतिक पहलका कारण काँग्रेस-माओवादी सहितको गठबन्धन तोडिएको बताएका छन् ।
धरानमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले आयोजना गरेको रमजान मुबारक बृहत् इफ्तार कार्यक्रममा उनले भने ‘गठबन्धन तोडेर सरकारमा गए तापनि हौसिनु पर्ने अवस्था छैन ।’
पूर्व मुख्यमन्त्री राईले मन्त्रीहरूलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएर एमाले मिसन ८४ मा गएको बताए । २०८४ को चुनावमा सङ्गठन बलियो बनाउँदै पार्टीलाई पहिलो नम्बरमा पुर्याउनु पर्ने कार्यभार पुरा गर्नुपर्ने दायित्व बाँकी नै रहेको उनले बताए ।
उनले भने ‘गठबन्धन टुटेपछि राष्ट्रिय राजनीति एमाले वरिपरि घुमेको छ ।’ उनले एमाले प्रतिपक्षमा होस वा सत्तापक्षमा राष्ट्रिय राजनीति एमाले वरिपरि घुमिरहेको उनको भनाई थियो ।
एमालेका धरान अध्यक्ष हक एभेङले धरान-२० मा सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने नाममा जग्गा प्लटिङ गरेर व्यवसाय गरिरहेको बताए ।
उनले धरान नगर प्रमुख हर्कराज राईले ग्रिन टिमा दैनिक डेढ सय जनाले चिया खाजा गरेर संस्थागत भ्रष्टाचार गरेको समेत दाबी गरे ।एभेङले कोकाह खानेपानीमा श्रमदानको नाममा ७ करोड खर्च गरे तापनि खानेपानी समस्या जस्ताको त्यसै रहेको बताए ।
मोहमद सागिरको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सदस्य रमेश कुमार बस्नेत, विजय कुमार राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा फिरोज अलीलाई सम्मान गरिएको थियो ।

        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        
















        
        
















































