इटहरी : नेपाल प्रेस युनियनको इटहरीमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि जारी घोषणापत्रमा सरकारले तयार गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ मस्यौदामा संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको हक लगायत मौलिक हक हनन हुने अस्पष्ट प्रावधानप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल प्रेस युनियन सुनसरी शाखाको आतिथ्यता इटहरीमा शनिवार सम्पन्न केन्द्रीय समितिको बैठक पछि जारी घोषणापत्रमा सरकारले सूचना प्रविधिको विकास, व्यवस्थापन र साइबर सुरक्षा र अपराध लगायतका विषयलाई नियमन गर्न बनेको मस्यौदा विधेयकप्रति ध्यानाकर्षण गराउँदै युनियनले शनिवार जारी १० सूत्रीय घोषणापत्र मार्फत संविधान प्रदत्त हकको सुरक्षा गर्न र सुनिश्चित गर्न माग गरेको छ ।

घोषणापत्रमा भनिएको छ ‘सूचना प्रविधि क्षेत्रको विकास, व्यवस्थापन र नियमनसहित व्यक्तिगत तथ्याङ्क संरक्षण, साइबर सुरक्षा र साइबर अपराध लगायतका विषयलाई नियमन गर्न सरकारले तयार गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ को मस्यौदाप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको हक लगायत अनेकौँ मौलिक हक हनन हुने गरी र कयौँ अस्पष्टता सहित तयार उक्त विधेयक मस्यौदा तयार भएकाले यसतर्फ सचेत रहँदै संविधान प्रदत्त हकको सुरक्षा गर्न र सुनिश्चित गर्न युनियन जोडदार माग गर्दछ ।’

प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको सदस्यता टुङ्गो नलगाई जिल्ला, प्रदेश तथा केन्द्रीय महाधिवेशन गरेको आरोप लगाएको छ । घोषणापत्रमा सदस्यता शुद्धीकरण अभियानमा युनियनको पूर्ण साथ सहयोग रहेको स्पष्ट गर्दै पत्रकार महासङ्घले सदस्यता टुङ्गो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले महासङ्घसँग ‘सदस्यता र मतदाता नामावलीको टुङ्गो लगाएर मात्र नेपाल पत्रकार महासङ्घका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न आग्रह’ गरेको छ ।

केद्रिय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा गम्भीर चिन्ता जनाएको छ ।

सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूले लामो समयदेखि नियमित पारिश्रमिक पाउन नसकेको, कतिपय सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यान्वयन समेत नभएको भन्दै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई युनियनले आग्रह गरेको छ ।

बैठकले सुनसरीको प्रसिद्ध बराहक्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सम्पदा संरक्षण, सम्वद्र्धन र आवश्यक पूर्वाधार निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराएको छ । चैत २७ गतेदेखि एक महिना चल्ने महाकुम्भ मेलामा सहभागी हुन र मेलाको आवश्यक प्रचारमा सघाउन सञ्चारकर्मीहरू लाई आग्रह गरेको छ ।

महासचिव दिलीप पौडेलद्वारा जारी घोषणापत्रमा भनिएको छ ‘नेपाल पत्रकार महासङ्घका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेको विषय विवादरहित र निशंक छ । संस्थापक सभापतिको विषयमा पत्रकार महासङ्घको इतिहास र गरिमा, पर्याप्त तथ्य र प्रमाण हुँदाहुँदै कुनै प्रकारका विवाद सिर्जना नगर्न सम्बद्ध सबै पक्षलाई युनियन आग्रह गर्दछ ।’

घोषणापत्रमा सञ्चार माध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, भुक्तानी प्रक्रियालाई छिटो र सहज बनाउन, सञ्चारमाध्यम दर्ता र आबद्धतालाई  सहज र सहुलियतपूर्ण बनाउन स्वरोजगार मूलक सञ्चारमाध्यमलाई संरक्षण र सम्वद्र्धन गर्न माग गरिएको छ ।

भनिएको छ ‘साथै, अनलाइन मिडियालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन समेत युनियन जोडदार माग गर्दछ ।’

सञ्चार माध्यमहरूले पनि आचारसंहिता पालना गर्दै विश्वसनीय र जिम्मेवार कन्टेन्ट प्रकाशन तथा प्रशारणमा ध्यान दिन आग्रह गर्दै सञ्चारमाध्यममा सहभागिता र समावेशितालाई जोड दिने र समाचार कन्टेन्टमा पनि विविधता ल्याउन प्रोत्साहनको नीति माग गरिएको छ साथै केन्द्रीय समितिको बैठक सम्पन्न गर्न आतिथ्यता प्रदान गर्ने नेपाल प्रेस युनियन सुनसरी शाखालाई विशेष धन्यवाद ज्ञापन सके गरिएको छ । 

Press union ghosana (2)Press union ghosana (1)