धरान : नेकपा एमालेबाट कोशी प्रदेश सभामा निर्वाचित र समानुपातिक सदस्यत्रयले धरानमा संयुक्त सम्पर्क कार्यालय खोलेका छन्।
सुनसरी-१ प्रदेश सभा ‘क’ र ‘ख’का निर्वाचित सदस्यद्वय रमेशकुमार बस्नेत, विजयकुमार राई तथा समानुपातिक सदस्य यशोदा कायस्थको संयुक्त सम्पर्क कार्यालय धरानमा स्थापना गरिएको हो ।
धरान-७ लीला स्मृति भवनमा शनिवार आयोजित कार्यक्रमका बिच सम्पर्क कार्यालय सुनसरी१ का पूर्व सांसद कृष्णकुमार राई र संविधान सभा सदस्य किरण राईबाट उद्घाटन गरिएको छ ।
सो अवसरमा संविधानसभाका पूर्व सांसद किरण राईले स्वतन्त्रको नाममा समाजमा भड्किलो क्रियाकलाप भई रहेकाले समाज उत्तेजित भइरहेको बताए ।
पार्टीगत कारण होइन सामाजिक सद्भावको हिसाबले यसलाई निष्पक्ष रूपमा हेर्न जरुरी भएको बताउँदै उनले भड्किएको मनोविज्ञानलाई सही दिशा दिनुपर्नेमा जोड दिए । उनले भने ‘उत्तेजित समाजलाई कर्तव्य पथको अभिभारा बुझाउने दायित्व जनप्रतिनिधिहरूको हो ।’
प्रदेश सांसद रमेश बस्नेतले जनप्रतिनिधिको भूमिका दल भन्दा माथि हुनुपर्दछ भन्ने उद्देश्यले जनताको भावना अनुसार कार्य गर्न सम्पर्क कार्यालय स्थापना गरिएको बताए ।
जनगुनासो र जनताको काम गर्न प्रत्येक दिन २ घण्टा सम्पर्क कार्यालयमा सुनसरी क्षेत्र १ का ३ सांसद सम्पर्क कार्यालयमा बस्ने उनले बताए ।
पहिलो र दोस्रो राष्ट्रिय जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको उपलब्धिलाई धावा बोल्दै जनतामा नैराश्यता ल्याउने कुचेष्टा समेत हुन थालेको बताउँदै सङ्घीयताको विकल्प नभएको जिकिर गरे ।
नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेलले धरानमा समाजलाई खलबल्याउने गरी भड्काउने काम भइरहेकोप्रति सांसदहरूको ध्यानाकर्षण गराउँदै भने ‘धरानेहरु सामाजिक, सांस्कृतिक सद्भाव र जातीय, धार्मिक सद्भावमा एकताबद्ध रहेको तर धरान हाँक्ने नेतृत्वले जातीय सद्भाव भड्काउन खोजिरहेकोले सचेत रहन जरुरी छ ।’
उक्त अवसरमा प्रदेश सांसद विजयकुमार राई, पूर्व सांसद मिना सुब्बा, पूर्व प्रदेश सभामुख प्रदीप भण्डारी, उमिता बराइली, सावित्री श्रेष्ठ, चन्द्र प्रसाद श्रेष्ठ, जसपा नगर अध्यक्ष ताजुव लिम्बु, एमाले नगर अध्यक्ष हर्कजङ एभेङ लगायतको उपस्थिति थियो ।

        
                    
        
                                        
                                                                                                
        
                
        
        
















        
        
















































