इटहरी : इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका भौतिक संरचना भत्काउन सुरु गरेको छ । वर्षे नि इटहरीमा बाढीले दुख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो ।

आजबाट इटहरी स्थित टेङ्ग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए । क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला पैनी पुगेका थिए । 'बारम्बार सूचना जारी गर्दा पनि नभत्काए पछि उपमहानगर आफैले भत्काउन सुरु गरेका हौ', मेयर पौडेलले भने । कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाइ छ।

टेङ्ग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६/६ मिटर नछोडीकन बनेका भवन संरचना हटाउन सुरु गरेको हो ।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठुलो पानी पर्दा त इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ । जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन्। 'अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तिमा बस्नेलाई जोगाउन इटहरी उप-महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको हो', मेयर पौडेल भन्छन् ।

इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन् । तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा छन् । २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो । अरू थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

इटहरीमा २०७४ र २०७८ कार्त्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरी दिएको थियो । त्यसबाट साबिक इटहरी १, ४ र ८ नं. वडाको भू-भागको जमिन कम्तीमा १० फुटसम्म डुबानमा परेको थियो । यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यतिबेला पनि इटहरीमा दुई फुटसम्म जमिन प्याङे माटोले पुरेको थियो । विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन । तर, त्यस दिन इटहरीका मानव वस्तिमा बाढी प्रवेश गरेको थियो ।

२०४० को दशकमा इटहरीको भूगोलमा मानव वस्ति पातलो थियो । यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे । जताततै खोला पैनी वा पानी बग्ने निकासका ठाउँहरू खुला थिए । जसले गर्दा सहजै पानी निकास हुने गर्थ्यो ।

जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दीर्घकालीन योजना बनाएर सदाका लागि तटबन्ध नलगाउनु जस्ता कारणले पनि इटहरीका बासिन्दा पीडित हुँदै आएका छन् ।

khola paini awaidha sanrachana 2

khola paini awaidha sanrachana 3