धरान : महिलालाई हुने महिनावारी लाज, घिनको कुरा नभएर प्राकृतिक शक्तिको प्रक्रिया भएकोले कसैले छोरी चेलीलाई महिनावारी हुँदा छुवाछुत र भेदभाव गरिए महिला हिंसा हुने सांसद सुशीला श्रेष्ठले बताएकी छिन् ।

धरानमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले भनिन् ‘कसैबाट छोरी चेलीलाई महिनावारी हुँदा गरिने हुने छुवाछुत र भेदभाव पनि महिला हिंसा हो भनेर सचेतना फैलाउन जरुरी छ ।’

महिनावारी स्वच्छताको सचेतनाका बढाउन महिलालाई व्यवसायीक बनाउन तालिम सञ्चालन गरिएको उनले बताइन ।

बियोण्ड बेईजिङ्ग कमिटीको आर्थिक सहयोग र एक्सपोज नेपालले पुनः प्रयोग गर्ने मिल्ने कपडाको प्याड बनाउने ४ दिने तालिमको समापनमा प्रमुख अतिथि सांसद श्रेष्ठले उक्त कुरा बताएकी हुन ।

चीनमा भएको बियोण्ड द बेईजिङ्ग सम्मेलनले महिला प्रजनन शिक्षा सहित ‘गर्भपतन गर्ने पहिलो अधिकार महिलामा हुनुपर्ने’ प्रस्ताव परित गरेपछि नेपालमा समेत कार्यान्वयनमा आएको उनले बताइन् ।

हाल बजारमा पाइने सेनिटरी प्याड ९० प्रतिशत प्लास्टिक, प्लास्टिकजन्य पदार्थ र केमिकलको प्रयोग गरिएको हुने वातावरणमा फोहोर गर्ने, एलर्जीका समस्याहरू देखिएको छ ।

सेनिटरी प्याड सही तरिकाले प्रयोग गर्न नजान्दा प्याडको केमिकल र युरिनको सङ्क्रमणले महिलाको महिला अङ्गमा असर पुर्‍याएको पाइएको छ ।

सांसद श्रेष्ठले भनिन् ‘पुन प्रयोग गर्ने मिल्ने सूतीको कपडाको प्याडले महिलाको स्वास्थ्यलाई सुरक्षित राख्ने वातावरण पनि स्वच्छ हुने देखिएको छ ।’

धरान-८ सहिद स्कुलमा भएको तालिममा ४० जना महिला सहभागी थिए । तालिमको सहजीकरण सृजना महर्जनले गरेकी थिइन ।

प्रशिक्षक महर्जनका अनुसार विभिन्न डिजाइनका कपडाको प्याड महिला आफैले तयार गरी त्यसलाई धोएर पुन प्रयोग गर्न मिल्छ । लगाउँदा सहज हुने प्रकारको कपडाको प्याड बनाउँदै व्यवसायीक रूपमा आर्य आर्जन गर्न सकिने गरी तालिम दिइएको उनले बताइन।

उनका अनुसार एक्स्पोज नेपालले हाल सम्म ९ हजार नेपाली महिलालाई तालिम प्रदान गरिसकेको छ ।  सुरक्षित र स्वास्थ्यकर प्याडले बजार लिइसकेको बताउँदै उनले तालिमको सदुपयोग व्यावसायिक उत्पादन गर्न आग्रह गरिन् ।

तालिम नारी स्वतन्त्र मञ्च सुनसरीको आयोजनामा भएको हो ।