इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आफूले निजी विद्यालयलाई पनि सँगै लिएर इटहरीको शिक्षा सुधारको अभियानमा हिँड्ने बताएका छन् ।

इटहरीमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै केही दिनमै निजी विद्यालयहरूसँग छलफल गर्ने र उनीहरूसमेतको प्रतिबद्धता साथै लिएर हिँड्ने बताएका हुन् । ‘निजी विद्यालयको पक्षमा स्टे अर्डर आएन, नगरपालिकाले जित्यो भन्ने जस्ता कुरा बाहिर आएका छन्,’ उनले भने, ‘आम जनताले आफूलाई चित्त नबुझेको कुरा राखेको विषयमा अदालतको एउटा आदेश आएको हो, कसैको हार र जित भएको होइन।’

उनले निजी विद्यालयहरूलाई निरुत्साहित गर्ने आफ्नो लक्ष्य नभएको बताए ।‘सामुदायिकलाई बनाउने र संस्थागत (निजी) विद्यालयको बेथिति अन्त्य गर्ने हो,’ उनले भने, ‘गुनासा छन् भने भन्नुपर्‍यो तर विधि मान्दिनँ भन्नु चाहिँ गलत हो ।’

उच्च अदालतको आदेशपछि उपमहानगरपालिकाले इटहरी भरी एउटै ड्रेस कोड लागु गर्ने बाटो खुलेको भोलिपल्ट मेयर पौडेलले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।

वार्षिक शुल्क छुट हुँदा पोसाक किन्न समस्या छैन तत्काल नयाँ पोसाक सिलाऊ भनेर भनिरहँदा निम्न वर्गीय परिवारलाई पोसाक सिलाउन गाह्रो हुँदैन ? भन्ने पत्रकारको प्रश्नमा उत्तर दिँदै मेयर पौडेलले भने, ‘वार्षिक शुल्क लगायत धेरै खालको शुल्क लिन पनि पाइँदैन, ती शुल्कहरू नलिने बित्तिकै लुगा किन्न अविभावकहरुलाई समस्या हुँदैन ।’

ऐन बदलेको आरोप गलत

उनले ऐन बदलेको आरोप गलत भएको समेत बताएका छन् । ‘ऐन बदलेको हो कि होइन भनेर प्रमाणित अदालतले गर्ने हो,’ उनले भने, ‘त्यो विषयमा अदालतले केही भनेको छैन र यो आरोप झुटो हो । उनले विधेयकलाई ऐन भनेर उपमेयरले आरोप लगाएको समेत बताए ।

उनले एमाले जनप्रतिनिधिहरूलाई पार्टीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । ‘उपप्रमुखले काम गर्न पाउनु भएको छैन,’ उनले भने, ‘आफैले निर्णय गरेको विषय होइन भन्ने स्थितिमा वहाँहरू हुनुहुन्छ, त्यसको लागि पार्टीले दबाब दिइरहेको र इटहरीलाई सधैँ अशान्त बनाइरहन चाहने व्यक्ति र समूहले खेलेको हो । उनले जनप्रतिनिधिहरूलाई स्वतन्त्र रूपले काम गर्न दिएर इटहरीलाई फेल हुनबाट बचाउनुपर्नेमा जोड दिए ।

सामुदायिकलाई निःशुल्क बनाउन काम थाल्छौँ

मेयर पौडेलले सामुदायिक विद्यालयलाई निःशुल्क शिक्षा दिने वातावरण बनाउन आफूले पहल थाल्ने बताएका छन् । ‘सामुदायिकले कुनै शुल्क लिन पाउँदैन, यही शैक्षिक सत्रदेखि यसको लागि काम थाल्छौँ,’ उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउन अविभावकहरु नै लाग्नुपर्नेमा उनको जोड थियो ।

‘इटहरीको जनता स्कुल राम्रो बन्नका लागि जसरी अविभावकहरु र व्यवस्थापन समिति लाग्यो र अहिले त्यो स्कुलमा सबैको आकर्षण बन्यो,’ उनले भने, ‘अन्य विद्यालयमा पनि अभिभावक र व्यवस्थापन समिति लाग्नुपर्‍यो ।’

खानेपानीको चुनाव भड्किलो नहोस् भन्ने चाहना हो । उनले इटहरी खानेपानीको चुनाव रोक्न मेयर लाग्यो भन्ने आरोपहरू निराधार रहेको बताएका छन् । ‘खानेपानीको चुनाव नगरपालिकाकै प्रतिनिधि पठाएर गर्ने तयारी गरिएको छ,’ उनले भने, ‘फेरी नगरपालिकाले नै चुनाव रोक्ने भन्ने कुरा हुँदैन, यसको खर्च घटाऔँ र सर्वपक्षीय समिति बनाऔँ भन्ने हाम्रो जोड हो ।’

उनले उपभोक्तामाथि नै भार पार्ने गरी ५५-६० लाख खर्चेर निर्वाचन गर्ने तयारी भएको बताउँदै यो रकमको दुरुपयोग भएको बताए । ‘४१ हजारलाई खानेपानी खुवाउने गरी ३ अर्बको प्रोजेक्ट आउँदै छ, कम्तीमा सबै राजनीतिक दलको प्रतिनिधित्वमा उपभोक्ता समिति बनाऔँ भन्नेमा हाम्रो जोड हो,’ उनले भने ।