धरान : लिम्बु विद्यार्थी मञ्चले दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन गर्ने तयारी सुरु गरेको छ । आउँदो चैत ७ र ८ गते धरानमा हुने महासम्मेलनमा मातृभाषा शिक्षाको आन्दोलन, सांस्कृतिक, धार्मिक र राजनीतिक विषयमा छलफल हुनेछ ।

महासम्मेलन तयारी बारे जानकारी दिन आज आइतबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका महासचिव प्रदीप नेयोङले उक्त विषयहरूमा केन्द्रित २२ वटा कार्यपत्रमा छलफल हुने बताए ।

उनका अनुसार महासम्मेलनमा विश्वका १७ देश भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्स सहित नेपालको १४ जिल्लाका एक हजार भन्दा बढी विद्यार्थीहरू सहभागी हुनेछन् ।

मञ्चका केन्द्रीय अध्यक्ष नितेस सिंगकका अनुसार सम्मेलनमा वर्तमान प्रदेश १ को नामाङ्कन आन्दोलन बिच लिम्बुवानको राजनीतिमा विद्यमान अन्योलका बारेमा छलफल हुनेछ ।

पत्रकारहरूको प्रश्नमा उनले प्रदेश १ को वर्तमान प्रदेश संरचना अनुसार पुनः नमांकन गर्दा लिम्बुवान, किरात उचित हुने बताउँदै विद्यार्थी मञ्चको मुख्य उद्देश्य भनेको लिम्बुवान र मातृभाषामा औपचारिक शिक्षा भएको बताए ।

सम्मेलनमा लिम्बु मातृभाषा शिक्षाको वर्तमान अवस्था र मातृभाषाको औपचारिक शिक्षाका लागि निर्धारण गर्नुपर्ने मातृभाषा शिक्षाको आन्दोलनको स्वरूपका बारेमा महासम्मेलन माग चित्र तयार गर्ने उनको भनाई थियो ।

पछिल्लो समय लिम्बु समुदायमा युमा धर्म लगायत धर्मका बारेमा बहसलाई धर्मनिरपेक्ष राष्ट्रका समुदायले आफ्नो धर्म, सम्प्रदायको खोजी गर्न पाउने अधिकारको रूपमा स्वाभाविक रूपमा लिनु पर्ने अध्यक्ष सिंगकले बताए ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा सम्मेलनमा लिम्बु भाषाको इतिहास र लिपिको विकास क्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्यक्रम निर्माण र विकास क्रम, किरात धर्म र संस्कार, संस्कृति, समुदायमा युमा धर्म र दर्शन, लिम्बुवानको भूमि अधिकारका विषयमा छलफल हुने उल्लेख छ ।

मुन्धुमी तथा ऐतिहासिक स्थलको चर्चा, लिम्बुहरूको प्रथा जनित कानुन, सङ्घीयता र जनसङ्ख्याको राजनीति, लिम्बु चलचित्र र साहित्य, मुन्धुममा समाज शास्त्रीय पक्ष, खेलकुद, मिडिया, लिम्बुहरूको शैक्षिक अवस्थाका बारेमा पनि छलफल हुनेछ ।

लिम्बुहरूको आर्थिक अवस्था, सङ्घीय, लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान आन्दोलनको अवस्था, अन्तर्राष्ट्रिय कानुन र आदिवासी अधिकार, पर्यावरण र जलवायु परिवर्तन, लिम्बुवानमा वर्तमान पहिचानको आन्दोलनको स्वरूपमा बारेमा पनि छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

लिम्बु विद्यार्थी मञ्च स्थापना भएको २५ औँ वर्षगाँठ पूरा भएको अवसरमा युप्पा तङ्बे रजत जयन्तीको अवसरमा महासम्मेलन आयोजना गरिएको हो । समापनको अवसरमा अन्तर्राष्ट्रिय सभाबाट पारित विषयहरू र महासम्मेलनको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताइएको छ ।

limbu matribhasa 2