धनकुटा : एमाले अध्यक्ष केपी शर्मा ओली सहितको सङ्कल्प यात्रा टोलीलाई आज बिहान धनकुटा प्रवेश गर्दा लेगुवाघाटामा धनकुटेलीहरूले स्वागत गरेका छन् ।
ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित छन् ।
यात्रा सुरु भएको १५ औँ दिन अरुण नदी तरेर टोली धनकुटा प्रवेश गरेको हो । यात्रामा सहभागीलाई अरुण नदी किनारमा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणले स्वागत गरेका हुन् ।
यसअघि भोजपुरको पौवादुम्वा गाउँपालिकामा आयोजित सभामा अध्यक्ष ओलीले नेकपा एमाले सरकार हटेपछि देश बरवादी तर्फ गएको बताए । उनले देशी विदेशी शक्तिको षड्यन्त्र लगाएर नेकपा एमालेलाई सरकारबाट बलजफ्ती हटाइएको बताए ।
उनले भने ‘अहिले देश ओरालो लागेर देशको अवस्था नाजुक, राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर, जनताले दुख पाएको देखेर सवैमा चिन्ता छाउने स्थिति बनेको छ ।’ उनले नेपाली काँग्रेसकै नेताहरूले नै ८४ सालको चुनाव पर्खन नसक्ने बताउन थालेको बताए । अध्यक्ष ओलीले भने ‘नेपाली काङ्ग्रेसकै नेताहरू पनि यो सरकारसँग आजित भैसकेका छन् ।’
उनले सम्भावनाहरू हेरेर यस ठाउँको विकास गर्न सकिन्छ भनेर ध्यान दिनका लागि आएको एमाले सङ्कल्प यात्रा लिएर निस्किएको बताए । कुनै पनि ठाउँ पछाडि पर्यो भने कुनै पनि मानिस गरिब भयो भने समृद्ध नेपाल सुखी नेपाली हुन नसक्ने बताए ।









































































