धरान : धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा मेयर हर्क साम्पाङबाट प्रस्तुत एजेन्डाहरूमा नेकपा एमाले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले राजनीति नगरेको पालिका संसदीय दलले आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

पालिका संसदीय दलका नेता वडा-१५ का अध्यक्ष नरेश इङवारमले भने ‘कार्यपालिकाको बैठकमा मेयरबाट प्रस्तुत एजेन्डाहरूमा नेकपा एमालेले राजनीति गरेको छैन ।’ केवल मेयर हर्क साम्पाङलाई एजेन्डाहरू विधि पूर्वक, ऐन कानुन अनुसार आउनु पर्‍यो भन्ने कुरामा मात्र जोड दिएको उनले बताए ।

गत कात्तिक ७ गते बसेको कार्यपालिका बैठकमा महत्त्वपूर्ण मानिएका ७ वटा एजेन्डाहरूमा छलफलै भएन । नेपाली काँग्रेसका वडाध्यक्षहरू र माओवादी संसदीय दलका नेता अनुपस्थित भएकाले उक्त एजेन्डाहरूमा छलफल स्थगित गरिएको थियो । 

नेता इङवारमले उक्त बैठकमा सहभागी हुने, नहुने बारेमा पार्टीमा छलफल भएपछि निर्देशन अनुसार सहभागी भएको बताए । बैठक बस्न नसकेको अवस्थामा एकल निर्णय, तोक आदेशबाट अझ त्रुटि दोहोरिँदै जाने सम्भावना भएकोले विधि, पद्धति अनुसार निर्णयहरू गर्न गराउन बैठकमा सहभागी भएको उनको भनाई थियो ।

उपमहानगरपालिकालाई विधि, पद्धतिको प्रक्रिया अनुसार अघि बढाउन विषयगत समितिहरू गठन नगरिएकाले कठिन भएको उनले बताए । समितिहरू गठन नहुँदा ऐनहरू नबनेकाले ऐन, कानुन अनुसार काम अघि नबढेको उनको भनाई छ ।

नेता इङवारमका अनुसार मेयर हर्क साम्पाङको उद्देश्य निर्देशिका बनाएर कार्यपालिकाको अधिकार खोसेर एकलौटी प्रयोग गर्ने अवैधानिक काम गर्ने रहेकोले पनि ऐन बनाउने समिति नै गठन गर्न नचाहेका बुझिन्छ । उनले कार्यपालिकामा मेयर साम्पाङले बढी राजनीति गरिरहेको बताए ।

मेयर साम्पाङले कार्यपालिकाबाट निर्णय नगराई बराह सहकारीलाई कारबाही गर्ने पत्राचार गरेको बताउँदै मन्त्रालयबाट कार्यपालिकाको निर्णय मागिएपछि मात्र बैठकको एजेण्डा बनाइएकोले स्थगन गरिएको बताए । उनले भने ‘मेयर सँग पूर्वाग्रह राखेर उक्त एजेण्डा स्थगन गरिएको होइन ।’

धरान-रामधुनी सडकको लागि मिक्स गिट्टी ठेकेदार लुम्बिनी गजुरमुखीलाई दिने एजेण्डा प्रक्रिया अनुसार नआएकोले स्थगन गरिएको हो । इङवारमले भने ‘मेयर तिलक राईको कार्यकालमा मदन भण्डारी राजमार्गको लागि सडक विभाग लगायतले गरेको लिखित पत्राचार कार्यपालिका बैठकमा प्रस्तुत गरिएको थियो ।’

पार्किङ शुल्कको एजेण्डा ठेक्का लगाउनु अघि कार्यपालिकामा निर्णय नगराइएको र ठेक्का दिएर उठाउन थालेपछि शुल्क दर संशोधन गर्न ल्याइकाले स्थगन गरिएको बताए । उनले भने ‘पार्किङ शुल्क बारेमा हामीले राजनीति गरेका छैनौँ तर, ऐन, नियम अनुसार नगरिएका कार्य अनुमोदन गर्न उचित ठानेनौँ ।’  

पत्रकार सम्मेलनमा एमाले उपमहानगर अध्यक्ष हर्क एभेङले उपमहानगरपालिकामा हुने गतिविधिहरू धरानको विकास, निर्माण र धरानवासीको दैनिक जीवनसँग जोडिएकाले पालिका संसदीय दल र पार्टी कमिटी बिच छलफल भएर अघि बढ्ने नीति रहेको बताए ।

पत्रकारहरूको प्रश्नको जवाफमा प्रदेश सभा सदस्य विजय राईले नेकपा एमाले पहिचान विरोधी नभएको बताए । उनले प्रदेशका ‘कोशी’ नामकरण एमाले एक्लैले नगरेको बताउँदै त्यसमा माओवादी, नेपाली काँग्रेस, राप्रपाको पनि सहमति रहेको बताउँदै भने ‘संसदीय प्रक्रियाबाट नाम बदल्न सकिन्छ तर एमालेलाई कमजोर बनाउन पहिचानको नाममा राजनीति भइरहेको छ ।’