इटहरी : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली काँग्रेसका सांसद केदार कार्कीले दाबी पेस गरेका छन् ।

आङ्बोले बिहीबार कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ सांसदको हस्ताक्षर सहित दाबी पेस गरेका हुन् । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।

त्यसैगरी कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद केदार कार्कीले पनि दाबी पेस गरेका छन् । बिहीबार कोशी प्रदेशसभामा रहेका ४७ सांसदको हस्ताक्षर सहित दाबी पेस गरेका हुन् ।

उनलाई नेपाली काँग्रेसका ८ सहित नेकपा एमालेका ३९ सांसदको समर्थन छ । यस अघि मुख्यमन्त्री दाबी गरेका नेकपा माओवादी केन्द्रका सांसदले किर्ते हस्ताक्षर प्रस्तुत गरेको भन्दै काँग्रेसका ८ सांसद सशरिर उपस्थित भएका हुन् ।