धरान : कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र हेलभिटासको प्राविधिक सहयोगमा इटहरीमा नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयले निःशुल्क होटेल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने भएको छ ।

धरानमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै शिक्षालयका अध्यक्ष एकचन्द्र बरालले उक्त जानकारी दिएका हुन । तालिम २४ महिनाको हुने उनले बताए । एसएलसी उत्तीर्ण वा एसइई परीक्षामा सामेल भएर जुनसुकै ग्रेड ल्याएका विद्यार्थीहरूलाई निःशुल्क तालिममा सहभागी गराइने छ ।

अध्यक्ष बरालले भने ‘प्राविधिक शिक्षा तथा तालिममा सहभागी हुन इच्छुक प्रशिक्षार्थी १६ देखी २५ वर्ष सम्मका नेपाली नागरिक हुनुपर्नेछ ।’ हाल लिखित एवं मौखिक परीक्षामा उत्तीर्ण ४० जना प्रशिक्षार्थीलाई तालिममा सहभागी गराइने छ ।

तालिममा छनौट भएका प्रशिक्षार्थीहरूलाई हाजिरी अनुसार दैनिक १०० रुपैयाँ यातायात खर्चका साथै साथै पोसाक खर्च बापत २५०० सय रुपैयाँ उपलब्ध गराइने छ ।

प्रशिक्षार्थीहरू उद्योग र व्यवसायमा गएर अनुभवी कामदारको प्रत्यक्ष मातहतमा रही दैनिक उत्पादन प्रक्रियामा सहभागी भई सीप र क्षमताको अनुभव प्राप्त गर्ने बताए ।

प्रशिक्षार्थीले तालिम अवधि २४ महिनामा साढे ३ महिना शिक्षालयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गर्ने छन् । साढे १९ महिना उद्योग व्यवसायमा व्यावहारिक सीप र कार्यस्थलको अनुभव गराइने छ ।

प्रशिक्षार्थीहरूलाई तालिम सकिएपछि प्रि-डिप्लोमा तहको प्रमाणपत्र प्रदान गरिने छ । तालिममा उत्कृष्ट प्रशिक्षार्थीहरुले नेपाल सरकारको लोक सेवा आयोगद्वारा लिइने सम्बन्धित विषयको पदमा प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष बराले बताए ।