धरान : नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्बाङ धरानमा पहिचानवादीहरूको ‘कोशी’ नाम खारेजीको नाराबाजीप्रति आक्रोशित देखिए । आज आइतबार राष्ट्रिय युवा सङ्घको प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटनमा उनले पहिचानवादीहरूको विरोधप्रति आक्रोश प्रकट गरेका हुन् ।

उनले भने ‘ढुङ्गा मुढा गरेर पहिचान प्राप्त हुँदैन ।’ नेकपा एमालेको विरोध गरेर र अराजक गतिविधि गरेर पहिचान स्थापित नहुने बताउँदै नेता नेम्वाङले कोशी प्रदेश बनाउन मुख्य दलहरूको नै मुख्य भूमिका रहेको उल्लेख गरे ।

पहिचानवादीले ताप्लेजुङमा लिम्बु डिएसपी र झापामा राजवंशी माथि ढुंगामुढा गरेर टाउको फुटाएको र च्यापु खुस्काएको घटना उल्लेख गर्दै ‘कस्तो खालको पहिचान खोजेको हो’ प्रश्न गरे । यस्ता गतिविधि कसैको लागि पनि हितकर नभएको नेता नेम्बाङले बताए ।

पहिचानवादीका केही घटकले सामाजिक सञ्जालमा सशक्त अवरोध हुने प्रचार गरेपछि अधिवेशनको सुरक्षाका लागि आज व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

धरान सुरक्षाका दृष्टिले पछिल्लो समय संवेदनशील मानिएकोले नेपाल प्रहरी अधिकृत सहित ३६४ जना, सशस्त्र प्रहरी २५० बढी परिचालित थिए । तर प्रचार गरिए जस्तो टकरावको स्थिति भने सिर्जना भएन ।

प्रदर्शनकारीहरू अधिवेशन स्थल जाने तीनकुने सिरिजंगा चौकमा जम्मा भएका थिए । उनीहरूले पहिचान मेट्न पाइँदैन, कोशी नाम खारेज गर, पहिचान विरोधी मुर्दावाद लगायतका नाराबाजी गरिरहेका थिए ।

प्रमुख अतिथि नेता नेम्वाङ यसअघिनै कडा सुरक्षा घेरामा अधिवेशन स्थल पुगेको थाहा भएपछि प्रदर्शनकारीले  चौकमा कोणसभा गरेका थिए ।

सङ्घको अधिवेशनको प्रचार सामग्रीमा ‘कोशी’ प्रदेश उल्लेख भएकोले कोशी खारेजी आन्दोलनको संयुक्त सङ्घर्ष समितिले मुख्य ब्यानर सहित अधिवेशनमा ‘कोशी’ उल्लेख गर्न नहुने सहित ४ सूत्रीय सर्त राख्दै अवरोध गर्ने पूर्व जानकारी वक्तव्य मार्फत दिएको थियो ।

उनीहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, योगेश भट्टराई, सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलाई बोलाउन नहुने पनि सर्त राखेका थिए । उद्घाटन समारोहमा उनीहरू थिएनन् ।

यसअघि स्थितिलाई तनाव रहित बनाउन पहिचानवादीहरूको सर्तका बारेमा सङ्घर्ष समितिका स्थानीय अगुवाहरू र आयोजक समितिको ३ पटक सम्म वार्ता भएको बताइएको छ । पहिचानवादीहरूले सामाजिक सञ्जालमा आक्रामक देखिए पनि आयोजक पक्षबाट कडा प्रतिक्रिया सहितको प्रचार भएको भने देखिएन ।

वार्ताका एक सहभागी अनुसार विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउने न्यूनतम सहमतिमा सङ्घर्ष समितिको केही घटक कडा रूपमा प्रस्तुत भएको बताइएको छ । अर्का सहभागीले प्रमुख घटकका स्थानीय अगुवा मिलेमतोमा फसेको बताए । सङ्घर्ष समितिको वक्तव्यमा ‘कोशी खारेजी आन्दोलन कुनै पनि सङ्गठन र समुदायको विरोधी होइन’ भनिएको छ ।

यता अधिवेशन उद्घाटनमा नेता नेम्वाङले एमाले पहिचानवादी पाटी भएको जिकिर गर्दै सभामुख भएका बेला एमालेकै पहलमा किरातका महान् गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको बताए । फाल्गुनन्द  किराँती समुदायको मात्र नभएर सिगो मुलुक र जनताको महान् गुरुको रूपमा स्थापित गर्न सफल भएको बताए ।

अधिवेशनमा १ हजार युवा सहभागी भएको बताइएको छ । अधिवेशनले सङ्घको १०१ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ । उद्घाटन सत्रमा सङ्घका पूर्व अध्यक्ष, इन्चार्ज महेश बस्नेत, एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, पूर्व मुख्यमन्त्री, पोलिटब्युरो सदस्य शेरधन राई लगायतले शुभकामना मन्तव्य दिए ।

Yuwa sang program dharanyuwa sang dharan police