इटहरी : कोशी प्रदेश सरकार गठनमा सभामुखले हस्ताक्षर गरेको विषयलाई लिएर नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । सभामुखले हस्ताक्षर गरेर काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री भएको विरुद्धमा एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च अदालत पुगेका हुन् ।
थापालाई मुख्यमन्त्री नियुक्त गर्नु गैर संवैधानिक भएको दाबी गर्दै उनी सर्वोच्च पुगेका कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएका छन् ।
सर्वोच्चले आज (२२ गते) दर्ता भएको मुद्दाको लागि २४ गते आइतबार १० बजे पेशि तारेखमा अदालत उपस्थित हुन भनेको छ ।
प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि सभामुखको हस्ताक्षर सहितको दाबीलाई स्वीकार गरेको बताइएको छ । तटस्थ भूमिकामा रहने सभामुखको हस्ताक्षर समेत लिएको मुख्यमन्त्री उद्धव थापा माथि आरोप छ ।
सभामुख गौतमले पदअनुसारको आचरण नगरेको रिटमा उल्लेख गरिएको छ । गौतमले असंवैधानिक काम गरेको बताइएको छ ।








































































