धरान : स्थानिय सरकार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले धरानमा डेङगुको बिरामीहरूको सङ्ख्या आपतकालिन अवस्थामा बढेको जनाएको छ ।
महाशाखा प्रमुख उमेश मेहताले भने ‘धरानमा दैनिक लगभग सय जना डेङगुबाट प्रभावित हुने गरेको अनुमान गरिएको छ ।’ डेङगुले गम्भीर बिरामी भएपछि अस्पताल जाने बाहेक अधिकांशले घरैमा औषधिमुलो गर्ने उनको भनाई छ ।
उपमहानगरपालिकाको तथ्याङ्क अनुसार अत्यधिक डेङगु प्रभावित वडाहरूमा वडा नम्बर र १७, ११ १५, १८, १६ र ८ वडा छन् । त्यस मध्ये १७ र ११ वडामा सबै भन्दा बढी प्रभावित क्षेत्र रहेको महाशाखा प्रमुख मेहताले बताए ।
धरानको निकै चल्तिमा रहेको विजयपुर हस्पिटलमा डेङ्गुका बिरामी दैनिक १० देखि १५ जना आउने गरेका छन् । हस्पिटलका प्रशासकीय अधिकृत ईन्दु नेपाल योञ्जनका अनुसार १८ दिनको अवधिमा हस्पिटलमा लगभग ३ सय जना डेङगुको लक्षण भएका बिरामी आएको उनले बताए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामीहरूको उपचार भइरहेको फोटोहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । त्यहाँ आउने डेङ्गुका बिरामीको तथ्याङ्क लिन प्रतिष्ठान प्रवक्ता डा.अञ्जु प्रधानसँग फोन सम्पर्क गर्दा यकिन डाटा नरहेको बताइन् ।
उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख मेहताले भने ‘धरानमा बढेको डेङगु सङ्क्रमण नियन्त्रणका लागि माथिल्लो निकायमा समन्वय गरिरहेका छौँ ।’
उनका अनुसार डेंगु परीक्षणको लागि रोग नियन्त्रण महाशाखा काठमाडौँ र प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटासँग समन्वय भइरहेको छ ।
कोशी प्रदेशका विज्ञ टोली परीक्षण गर्ने सामान समेत लिएर धरान आउने तयारीमा छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलको सहकार्यमा डेङगु सङ्क्रमितको निःशुल्क उपचारको लागि पहल भइरहेको छ ।
अन्य सहरी क्षेत्रमा भन्दा धरानमा डेङगुको सङ्क्रमण बढी फैलनुको कारण धरानमा खानेपानी अभावका कारण पानी जोहो गर्न भाँडा कुँडामा खानेपानी राख्नु पर्ने बाध्यता रहेको महाशाखा प्रमुख मेहताको भनाई छ ।
उनले भने ‘भाँडा कुँडामा पानी राखेपछि दुई तिन दिन सम्म पानी नबदलिँदा त्यहीँ पानीमा डेङगु लामखुट्टेले फूल पार्ने भएको कारण धरानका बढी डेङगु फैलिएको हो ।’
विश्व स्वास्थ्य सङ्गठनका अनुसार डेङगु सबैभन्दा छिटो फैलिने र ज्वरो शीर्ष १० विश्वव्यापी स्वास्थ्य खतराहरू मध्ये एक हो । डेङगु ५० वर्षको अवधिमा विश्वव्यापी रूपमा ३० गुणा वृद्धि भएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार डेङगु भाइरसको ४ प्रकारका सेरोटाइपमा (समूह) लाग्ने गर्दछ । यसको सामान्य लक्षणहरूमा ज्वरो आउने, सुन्निने, वाकवाकी लाग्न टाउको जीउ दुख्ने गर्दछ । दुखाइ एक हप्तासम्म रहन सक्छ ।
डेङगुका केही बिरामीहरूमा जटिल समस्या भई आन्तरिक रक्तस्राव, झटका र मृत्यु समेत हुन सक्ने भएकाले गम्भीर बिरामीलाई अस्पताल लैजान जरुरी हुन्छ । अस्पतालमा स्वास्थ्यकर्मीको सल्लाहमा सावधानी पूर्वक निगरानी गरिनु पर्ने मेहताले बताए ।
धरान उपमहानगरपालिकाले डेङगु नियन्त्रणको लागि प्रभावकारी उपायहरू चालेको उनको भनाई छ । सर्च एण्ड डिस्ट्रोइड अभियानले लार्भाको वासस्थान खोजी गर्ने र नष्ट गर्न थालिएको छ ।
फगिङ धुवा उडाउन थालिएको छ । प्रभावित समुदायमा स्वास्थ्य परिक्षण, वडाहरूमा रहेका टिएलओसँग सचेतना बढाउन अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
सचेतनाका लागि माइकिङ गर्ने तयारी गरिएको महाशाखा प्रमुख मेहताले बताए । नियन्त्रणका लागि बढी प्रभावकारी उपाय लार्भा वासस्थान खोजी गरी नष्ट गर्ने उपाय सर्च एण्ड डिस्ट्रोइ नै प्रमुख र प्रभावकारी उपाय भएको उनले बताए ।
उनले भने ‘फग्गी अर्थात् धुवाद्वारा गरिने लामखुट्टे भगाई दिगो वा प्रभावकारी भने हुँदैन ।’
कोरोनाकाल अघि डेङगुले महामारीको रुप लिएको धरानमा कोरोना पछि दोस्रो पटक यसपालि वर्षा सुरु सँगै बढेको हो ।
धरानमा यसपालि सुरुमा वडा १७ को फोकल्याण्डबाट सुरु भई वडा ११, वडा १६ हुँदै अन्य वडामा डेङगु बिरामीहरू बढ्दै गएका छन्।
        
                    
        
                                        
                                                                                                
        
                
                
        
        
















        
        
















































