इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश समितिले वार्ता र संवाद मार्फत पहिचानवादी आन्दोलनरत पक्षसँग सहमति गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ । शनिवार बसेको प्रदेश समितिको बैठकबाट काँग्रेसले पहिचानवादी दल तथा संस्थाहरू सँग यथाशीघ्र संवाद गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

आन्दोलनरत पक्षलाई धरपकड गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्नुपर्ने प्रदेश महामन्त्री उमेश थापाले बताए । शान्तिपूर्ण निकास र समस्या समाधानको लागि काँग्रेस तयार रहेको बताउँदै उनले सबै पक्षबाट सकारात्मक पहल गर्नुपर्ने प्रतिक्रिया दिए ।

यसै विषयमा काँग्रेसले शुक्रवार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण, संयमित र मानवअधिकारको उल्लङ्घन नहुने गरी आफ्ना जायज मागहरू राख्न आग्रह गरेको थियो। "कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरूलाई यथाशक्य सम्बोधन गर्नुहुन ध्यानाकर्षण गराउँदछौ," विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनको परिस्थिति प्रतिकुल हुँदा समाजसेवी युवा पदम बहादुर लिम्बु (लाजेहाङ)को निधन प्रति काँग्रेसले दुःख व्यक्त गरेको छ । काँग्रेसले गत वैशाख २६ गते झापाको दमकमा प्रदर्शनका क्रममा घाइते भएका गजेन्द्र फागो र निर्मला क्षेत्री लिम्बूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको सम्पूर्ण औषधी उपचारको खर्च व्यहोर्नुपर्ने महामन्त्री थापाले बताए ।

नाम राख्नै पर्ने बाध्यता भएको बताउँदै काँग्रेसले र साझा सहमतिबाट कोशी प्रदेश नामकरण गरिएको प्रष्ट पारेको छ ।

शनिवारको बैठकले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रमको गम्भीर समीक्षा गर्न सांसदहरूलाई निर्देशन दिने निर्णय गरेको छ । सङ्गठन विस्तार र सरकारको खबरदारीमा काँग्रेस लाग्ने थापाले बताए । सङ्घीय सरकारको गठबन्धन अनुसार अगाडि बढ्न प्रदेश सरकारलाई समर्थन गरेका दलहरूलाई दबाब दिने उनले जानकारी दिए ।

koshi-congress-PR