धरान : कोशी नाम खारेजी, पूनःनामाकरणको आन्दोलनरत पहिचानवादीहरू ‘आतङ्ककारी’ हुन भने आतङ्ककारी नै सही कोशी नाम खारेजी नभए सम्म आन्दोलन नरोकिने संयुक्त सङ्घर्ष समितिका सदस्य अशोक राईले बताएका छन् ।

उनले गत साता नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनकारीलाई ‘आतङ्ककारी’को संज्ञा दिएकोमा आपत्ति जनाउँदै आज भानुचौकको सडकमा आयोजित लिम्बु जातिको यक्वा तङनाम उभौली आन्दोलन कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले प्रश्न गरे ‘हामीलाई आतङ्ककारी भनिसकेपछि सशस्त्र आन्दोलन गरेर भए पनि कोशी नाम खारेजी गराउन आन्दोलनलाई उहाँले चुनौती दिनु भएको हो ?’ लोकतन्त्रमा जनताको आवाजलाई यसरी नै धम्कीले दबाउने हो भने आन्दोलनकारीले जे पनि गर्न सक्ने उनले बताए ।

किरात याक्थुङ चुम्लुङका राष्ट्रिय पार्षद् ताजुब लिम्बुले राज्यले आदिवासी समुदायको पहिचानलाई नामेट गर्ने नीति लिएकोले आज सांस्कृतिक, धार्मिक पर्वहरू सडकमा उत्रिएर मनाउनु पर्ने अवस्था आएको बताए । उनले भने ‘जाँड, रक्सी आदिवासीको सांस्कृतिक पेय हो, हामीलाई आज सडकमा चाडपर्व मनाउन बाध्य बनाएकाले सडकमै खाँदैछौं ।’

यसपालिको यक्वा तङनाम पर्वलाई कोशी नाम खारेजीको आन्दोलनसँग जोडेर सडकमै मनाउने चुम्लुङको निर्णय अनुसार लिम्बुवानको नौ वटै जिल्लामा आज सडक पर्व मनाइएको चुम्लुङ नगर सचिव जय सम्बाहाम्फेले बताए ।

भानुचौकमा भेला भएका लिम्बु समुदायले भानुको सालिक अघि च्याब्रुङ नाच प्रदर्शन गरे । त्यहाँ सहभागी सहित आगन्तुक रमिता हेर्न आएकाहरूलाई लिम्बु जातिको सगुनको रूपमा कोदोको जाँड खाने, खुवाउने कार्यक्रम पनि भएको थियो ।

करिब एक घण्टा सम्म चलेको कार्यक्रमको बिचमा सहभागीहरू नाराबाजी पनि गरेका थिए । 'कोशी प्रदेश खारेज गर, गद्दार प्रदेश सांसदहरू मुर्दावाद, हिक्मत सरकार मुर्दावाद, पहिचान सहितको नामकरण गछौं गछौं' लगायतका नाराहरू लगाइएका थिए ।