धरान : आज बैशाखे पूर्णिमाको दिन आदिबासी जाती समुदायको प्रमुख दुई पर्व मध्ये एक उभौली सुरु भएको छ । धरानका राई, लिम्बु, सुनुवार, यख्खा लगायत किरात समूहका जातिहरूका जातीय संस्थाहरूको आयोजनमा बिहान प्रकृतिको पूजा अर्चना गरेका छन् ।
यसपालि उभौलीलाई कोशी नाम खारेज, पूनः नामाकरणको जारी आन्दोलनसँग जोडेर मनाउन आज साँझ भानुचौक सडकमा आदिबासी जातिका सांस्कृतिक प्रदर्शन सँग परिकारहरूको खानपान समेत गरिने भएको छ ।
लिम्बु जातिको उभौली यक्वा तङनामको पूजा अर्चनाको अवसरमा आज बिहान आयोजित कार्यक्रममा किरात याक्थुङ चुम्लुङले भानुचौकमा उभौली आन्दोलनको लागि तयारी पूरा गरिएको जनाएको छ ।

चुम्लुङका केन्द्रीय सल्लाहकार नरप्रसाद लिम्बुले भने ‘यसपालीका उभौली सडकमा मनाउने संयुक्त सङ्घर्ष समितिले निर्णय गरेको हो ।’ उनले आज भानुचौकमा आदिबासी सबै जातिका सङ्गठनहरू उत्रिने बताए ।
केन्द्रीय सदस्य संगीता सुब्बाले आज यक्वा तङनाम मनाउन धरानका सबै लिम्बुहरू आफू मात्र हाइन कमसेकम आफ्नो साथमा एकजना साथी लिएर आउन आव्हान गरिन् ।
चुम्लुङ सुनसरीका कार्यवाहक अध्यक्ष स्वर्णिमाहाङ फोम्बोले पहिचानको लागि अब सबै चाडपर्वहरू आन्दोलनको रूपमा मनाउने अवस्था आएको बताउँदै चुम्लुङले अरुणपूर्व लिम्बुवानका सबै जिल्लाहरूमा सडकमा यक्वा तङनाम मनाउन परिपत्र गरेको बताए ।
चुम्लुङ धरान उपमहानगर अध्यक्ष पद्मा लिम्बुको सभापतित्वमा भएको औपचारीक कार्यक्रममा केन्द्रीय सल्लाहकार हर्ष सुब्बा, दुर्गामाया लिम्बु, चन्द्रमाया लिम्बु, नगर समितिका पदाधिकारी, वडा समितिका अध्यक्षहरू लगायत युवाहरूको उपस्थिति थियो । यसअघि फेदाङले मुन्धुम अनुसार यक्वा पूजाको अनुष्ठान सम्पन्न गरेका थिए ।








































































