आज वैशाख पूर्णिमा अर्थात् २ हजार ५सय ६७ औँ बुद्ध जयन्ती । वैशाख शुक्ल पक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्ति भाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरेका छन्।
ईशापूर्व ५६३ मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो । बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिर लगायत देशभरका बैद्ध बिहार तथा गुम्बाहरूमा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने प्रचलन रही आएको छ ।
बुद्धको जन्म साल इ.पू. ५६३ मा भएको हो, तर श्रीलङ्कालीहरूले भने इ.पू. ६२३ लाई आधार मानेर जन्मदिन मनाउने गरेका छन् । श्रीलङ्काली मान्यताकै प्रभावमा संयुक्त राष्ट्रसङ्घले पनि यही साललाई आधिकारिक मानेको छ । परम्परा र ऐतिहासिक निर्क्योलमै ६० वर्षको फरक रहेको छ तर नेपालमा भने परम्परागत आधारमा २५६७ औँ बुद्ध जयन्ती भनेर मनाइदैछ। बौद्ध इतिहासमा बुद्धको जन्म (इ.पू. ५६३), बुद्धत्व प्राप्ति (इ.पू. ५२८) र महापरिनिर्वाण (इ.पू. ४८३) लाई ज्यादै महत्त्व दिइएको छ र यी तीनै दिन वैशाख पूर्णिमा नै पर्नु अद्भुत संयोग हो ।
चण्डी पूर्णिमा/ उँभौली पर्व
वैशाख पूर्णिमादेखि झण्डै १५ दिनसम्म, तेज वर्षात राम्रो भई अन्नपात सप्रियोस् भनी कामना गर्दै साकेला उभौली चण्डी नाचेर मनाइन्छ। अरू समुदाय वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती मनाइरहेका बेला किरात समुदाय सुँगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उभौली पर्व भव्य रूपमा मनाइरहेका हुन्छन्। यस दिन किरात समुदायका: राई, लिम्बु, याक्खा, सुनुवारहरू अदि किराँतहरू साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावा लस्करसहित भेला हुन्छन्।
आज धरानको विजयपुरमा स्थित बुढासुब्बा मन्दिरमा बिहानै देखि भक्त जनहरको घुइँचो लाग्ने गर्दछ। आज बुढासुब्बालाई कुखुरा हाँस, सुँगुरको बली दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जातजातिहरूले आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको हुनाले आजको दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्न आन्तरिक तथा बाह्य भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।
गोरखनाथ जयन्ती
सिद्ध गोरखनाथको जन्म वैशाख शुक्ल पूर्णिमाको दिनमा भएको हो । गोरखनाथको जन्म, वंश,आमा बुबाका सम्बन्धमा राम्ररी निश्चय गर्न सकिएको छैन ।
आचार्य अभयदत्तश्रीले रचना गरेको र वाराणसीको सारनाथ स्थित केन्द्रीय उच्च तिब्बती शिक्षा संस्थानद्वारा प्रकाशित चौरासी सिद्धहरूको वृत्तान्तमा नवौँ सिद्धको रूपमा गोरक्षपाको उल्लेख गरिएको छ । त्यस वृत्तान्तमा गोरक्षपालाई पूर्वी भारतका देवपालको समयका गाई गोठालाको रूपमा वर्णन गरिएको छ । यसको आशय मगधका राजा देवपाल हुन् । तिनै गाई गोठाला गोरक्षपालाई नै सिद्ध गोरखनाथ मानिएको छ ।
यसै गरी गोरखाको गोरखनाथ गुफामा लिच्छवि राजा शिवदेव द्वितीयको संवत् १२२ (वि.सं.७५५) को अभिलेख पाइएको छ। त्यसैगरी भारतको गोरखपुरस्थित गोरखनाथको मन्दिरमा प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा गोरखनाथलाई पहिला नेपालको गोरखा दरबारबाट ल्याएको खिचडी चढाइन्छ । त्यसपछि त्यहाँका महन्त महाराजले खिचडी चढाएपछि मात्र अरू भक्तजनहरूले गोरखनाथलाई खिचडी चढाउने गरेका छन् ।
सिद्ध गोरखनाथका गुरु सिद्ध मच्छिन्द्रनाथ हुन् । सिद्ध मच्छिन्द्रनाथलेनाथ सम्प्रदायको प्रवर्तन गरेका हुन् र सिद्ध गोरखनाथले नाथ सम्प्रदायको भलिभाँती विकाश गरेका हुन्। नाथ सम्प्रदाय शैव मतले प्रभावित रहेको छ र नेपालमा विकसित नाथ सम्प्रदायमा प्राचीन पाशुपत मतको प्रभाव रहिरहेको छ । आदिनाथ अर्थात् मच्छिन्द्रनाथ महादेवका शिक्षाहरूलाई सरलीकृत गर्दै सनातन संस्कारको रक्षा अनि जागरणलाई अघि बढाउन गुरु गोरखनाथको उल्लेखनीय योगदान रहेको छ। गर्गसंहिताको अनुसार महादेवले स्वयम् नै यसो भन्नुभएको छ ।
"अहमेवास्मि गोरक्षो मद तन्निबोधत ।
योग मार्ग प्रचाराय मयारूपमिदं धृतम्।।"
अर्थात् म नै गोरक्षक हुँ, गोरक्षलाई मेरो नै रूप जान्नु, योग मार्गको प्रचारका लागि मैले यो रूप धारण गरेको हूँ। शिवका सच्चा स्वरूप अनि प्रकृतिको उपर पूर्ण स्वामित्व र सिद्ध प्राप्त गर्नुभएका महान् गुरु गोरखनाथ जयन्तीको अवसरलाई आज गोरखनाथ जयन्तीका रूपमा मनाउने गरिन्छ।








































































