विराटनगर : मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन सहितको केन्द्र सार्ने गाउँ सभाले निर्णय गरेको छ ।
गाउँ सभाको आज बसेको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरे भने ७ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए ।
४ जनाको मत बदर भएको थियो । पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँ सभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए।
उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो । मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले जानकारी दिए ।
मोरङको कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा पालिकाको केन्द्र स्थापनाको लागि भन्दै भौंसाबारीमा १ बिगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो ।
गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेस गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकठ्ठा १० लाख २५ हजारमा खरिद गरेको हो।
त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो । गाउँ सभाबाट सार्ने निर्णय भएसँगै अब यो विवाद समाधान भएको उपाध्यक्ष अधिकारीले जानकारी दिए ।








































































