बराहक्षेत्र : बराहक्षेत्र-५ कालाबञ्जर स्थित हैटा खोला क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा वरण्डा हटाउन नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

खोलाको बहाव क्षेत्र खोलाको नक्साको क्षेत्रफल बमोजिमको क्षेत्र अतिक्रमण गरी पानीको बहाव रोकिने गरी निर्माण गरिएका खोला भित्रका घर, टहरा तथा बरन्डाहरूका कारण पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्षेनी ठुलो मात्रामा धनजनहरूको क्षति पुर्‍याएको भन्दै उक्त संरचना ३५ दिन भित्र हटाउन निर्देशन सहित नगरपालिकाले सूचना प्रकाशन गरेको हो ।

पानीको प्राकृतिक बहावलाई यथावत् कायम राख्न खोलाको बहाव क्षेत्र अतिक्रमण गरी निर्माण गरेका घर, टहरा तथा बरन्डाहरू हटाउने कार्यपालिकाको निर्णय भएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उक्त संरचनाहरू सूचना प्रकाशन भएको ३५ दिन भित्र हटाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको नगर प्रमुख कार्कीको भनाई छ।

तोकिएको समयमा त्यस्ता संरचना हटाउन अटेर गरेमा त्यस्ता संरचनाधनीलाइ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुने नगरपालिकाले जनाएको छ ।