वराहक्षेत्र : दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिताको उपाधि राजावास यूथ क्लब राजावासले जितेको छ ।
वराहक्षेत्र ११ मधुवनमा शनिवार सम्पन्न फाइनल खेलमा पाञ्चायन फुटबल क्लब रामधुनिलाई टाइब्रेकरमा २ को विरुद्ध ४ गोलको अन्तरले पराजित गर्दै राजावासले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेलको २० औँ मिनेटमा पाञ्चायनले अग्रता लिएको थियो । जर्सी नं १८ का पूजन चौधरीले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको राजावासले दोस्रो हाफमा खेलमा फर्किएको थियो । खेलको अतिरिक्त समयमा जर्सी नं ४ का खेलाडी सुजित भुजेल बराबरी गोल गर्न सफल भएका थिए ।
उपाधि हात पारेको राजावासले नगद ५१ हजार सहित मेडल र ट्रफी हात पारेको छ । उपबिजेतामा चित्त बुझाएको पाञ्चायनले नगद ३१ हजार सहित मेडल र ट्रफि प्राप्त गरेको छ।विजेता, उपविजेता तथा विधागत तर्फ उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय हाजी इस्राईल मन्सुरी, वडा अध्यक्ष कृष्ण महतो, क्लबका अध्यक्ष कलामुद्दिन अन्सारी लगायतले पुरस्कार वितरण गरेका थिए ।








































































