वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा चौथो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ।
'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ वराहक्षेत्र नगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिवारबाट नगर स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।
चौथो नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रमेश कार्कीले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व रहेको बताए । उनका अनुसार, खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले पनि विद्यार्थी जीवनमा यसको धेरै महत्त्व हुन्छ । उनले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने बताए । शैक्षिक स्तरलाई सुधार गर्दै खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी हुनका विद्यार्थीहरूलाई कार्कीले आग्रह गरे ।
प्रतियोगितामा एथलेटिक्स, कबड्डी, कराँते र भलिबल विद्याका खेल हुने वराहक्षेत्र नगरपालिका खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिए । प्रतियोगितामा पालिकामा रहेका सामुदायिक र संस्थागत माध्यमिक तहका विद्यालयका बिद्यार्थीहरु सहभागी रहने नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद विकास शाखा प्रमुख उपसचिव देवेन्द्रबहादुर मल्लले जानकारी दिए । प्रतियोगितामा कक्षा ९ देखि १२ कक्षामा अध्ययन गरिरहेका बिद्यार्थीहरुको सहभागिता रहेको र प्रत्येक विधामा विजयी हुनेले शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगिता फाल्गुण ६ गते देखि ९ गतेसम्म सञ्चालन हुनेछ ।









































































