धरान : सुनसरी जिल्ला जुडो सङ्घले धरानका खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ ।
माघ २८ गते धरान १६ स्थित रङ्गशालाको नयाँ भवनमा औपचारिक कार्यक्रम आयोजना गर्दै सुनसरी जिल्ला जुडो सङ्घले धरानका १३ जना खेलाडीहरूलाई बढुवा गरेको छ ।
ग्रेडिङ हुनेमा धरानका प्राप्ति राणा मगर,प्रयास राई, प्राश्ना राई, अजिरा मगर, नोहेम लिम्बू, रिजन तामाङ, नयन राणा मगरले ओरेन्ज बेल्ट प्राप्त गरे भने आस्था राई, सन्देश राई, राहुल भुजेल, दीपिका आचजु र दिव्य लिम्बुले याल्लो (पहेँलो) बेल्ट प्राप्त गरेका छन् । खेलाडीहरूको ग्रेडिङ प्रशिक्षक रोशनी राईले गरेकी थिइन ।
खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरानका उपमेयर अइन्द्र बेघाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । उपमेयर बेघाले धरानमा जुडो खेलाडीले राष्ट्र प्रतियोगितामा सहभागी भएका र पदक जितेका ३ खेलाडीलाई समेत बधाई दिँदै आगामी दिनमा स्थानीय सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य सिर्जना नेपाल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य खेल प्रेमी जीवन राई, माओवादी धरान इन्चार्ज पूर्व जुडो सङ्घ प्रतिनिधि फोक्वाहाङ्ग सुब्बा चोत्लुङ्ग आदिको उपस्थिति रहेको थियो । कार्यक्रम सम्पन्न गर्न धरान फुटबल क्लब अध्यक्ष किशोर राईले व्यवस्थापनमा सहयोग गरेका थिए ।
जुडो खेलको अब प्रोत्साहन र प्रवर्द्धनमा धरानबाट उल्लेखनीय भूमिका खेल्ने कुरा सुनसरी जिल्ला जुडो सङ्घका प्रतिनिधि राकेश विश्वकर्माले बताए ।









































































