इटहरी : नेपाली काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले पार्टी नेतृत्वको पछिल्लो गतिविधि प्रति शङ्का व्यक्त गरेका छन् । बुधवार सामाजिक सञ्जाल मार्फत उनले सरकारलाई समर्थन गरेर नेतृत्वले दोहोरो नीति अपनाएको बताएका हुन् ।
प्रमुख प्रतिपक्षी भएर पनि काँग्रेसले सरकारलाई समर्थन गरेकोमा उनी सशङ्कित देखिएका हुन् । ‘काँग्रेसले माओवादीको नेतृत्वको सङ्घीय सरकारलाई विश्वासको मत दियो । सुदूर पश्चिमको सभामुखको निर्वाचनमा प्रतिस्पर्धा गर्यो । बागमती प्रदेशको माओवादी सरकारलाई फेरि विश्वासको मत दियो । हैन कस्तो दोहोरो नीति हो ?,’ उनले प्रश्न गरेका छन् ।
काँग्रेसको नीति बुझ्नै नसकिएको बताउँदै उनले पशुपतिनाथले रक्षा गरुन् भन्ने अभिव्यक्ति दिएका छन् ।‘अब भोलि हुने सङ्घीय सभामुखको निर्वाचनमा कतै सरकारको प्रस्तावलाई फेरि समर्थन गर्यो भने आश्चर्य नमाने हुने भयो,’ उनले भनेका छन् ।









































































