इटहरी : प्रदेश १ दोस्रो प्रदेशसभाको पहिलो बैठकमा प्रदेश निजामती सेवा अध्यादेश-२०७९ टेबल भएको छ । 
दोस्रो कार्यकालको पहिलो बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश टेबल गरेका हुन् । पौष १६ गते आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका थिए । 
सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्न अध्यादेश ल्याउनुपर्ने बाध्यता भएको उनले जानकारी गराए । बैठकले प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतलाई पारित गरेको छ । 
नेपाली काँग्रेसका माननीय भीम प्रसाद पराजुलीले प्रस्ताव गरेको नियमावलीलाई नेकपा एमालेका माननीय लिलाबल्लभ अधिकारीले समर्थन गरेका थिए । 
यसअघि प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संशोधन अध्यादेश २०७९ जारी गरेको थियो । प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ ।