धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आइयुडिपी खानेपानी परियोजनाको परामर्शदाता र ठेकेदार पक्षलाई बोलाएर छलफल गरेका छन् । 

मेयर साम्पाङले शुक्रवार आइयुडिपीका परामर्शदाता इन्जिनियर अनिल नेपाल, ठेकेदार कम्पनी तियाञ्जेन तुदी जेभीका प्रतिनिधि निर्माण गौलीलाई बोलाएर आइयुडिपी परियोजनाको बारेमा जानकारी लिएका थिए। उनीहरूलाई परियोजनाको बारेमा मेयर साम्पाङले केरकार समेत गरे । 

धरानको खानेपानी परियोजना के कारणले असफल भयो ? यसबारेमा मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघाले उनीहरूलाई सोधेका थिए । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा भएको छलफलमा खानेपानी परियोजना आइयुडिपी किन असफल भयो ? भनेर खानेपानीका अभियानकर्मीहरूले समेत प्रश्न गरेका थिए ।

उनीहरूलाई मेयर उपमेयर र खानेपानी अभियानकर्मीहरूले पनि विभिन्न प्रश्नहरू गरेका थिए । खानेपानी अभियन्ताहरूले ठेकेदार, परामर्शदाताका प्रतिनिधि र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई समेत आक्रोशित हुँदै प्रश्न गरेका थिए ।

उनीहरूले आइयुडिपीमा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग पनि गरे । आइयुडिपीका परामर्शदाता इन्जिनियर अनिल नेपाल, ठेकेदार कम्पनी तियाञ्जेन तुदी जेभीका प्रतिनिधि र खानेपानी बोर्डका निर्देशक राजु पोखरेललाई आइयुडिपीमा चरम भ्रष्टाचार भएकोले बेहोर्न पनि भने । धराने जनताले आइयुडिपीको ऋण नतिर्ने बताउँदै आक्रोशित अभियानकर्मीहरूलाई मेयर साम्पाङले सम्झाउँदै विगतको नेतृत्वले गरेको कामहरूको जिम्मेवारी अहिले नेतृत्वमा आफू भएकोले लिने भन्दै खर्चको छानबिन गर्ने बताए । 

आइयुडिपी अन्तर्गत खानेपानी परियोजना असफल भएको भन्दै गर्दा आइयुडिपीका प्रतिनिधि इन्जिनियर अनिल नेपालले भने डिपिआर अनुसार नै खानेपानी उत्पादन भइरहेको दाबी गरे ।

पानी उत्पादन भने अनुसार नै भएको भए पनि ट्याङ्की सम्म पानी आई नपुग्नु पाइपमा समस्या भएको बताइएको छ । पाइपको इन्टर कनेक्सन हुन नसकेकोले पानी नआएको बताइएको छ ।

धरानको खानेपानीमा एकीकृत सहरी विकास आयोजना (आइयुडिपी)मा कुल २ अर्ब १६ करोड १८ लाख ३९ हजार १६३ रुपैयाँ खर्च भएको जानकारी दिइएको छ । त्यसमध्ये खानेपानी आयोजनाको ठेकेदारलाई १ अर्ब ७४ करोड ७९ लाख ९२ हजार २४२ रुपैयाँ भुक्तानी भएको छ ।

परामर्शदाता खर्चमा १३ करोड १ लाख ६ हजार भएको छ भने मूल्य समायोजन गर्दा ठेकेदार कम्पनीलाई थप १० करोड ६ लाख भुक्तानी भएको धरान उपमहानगरपालिकाको लेखा शाखाले जनाएको छ ।

सामुदायिक विकासको काममा २ करोड ९९ लाख ८ हजार ८ सय ५, आदिवासी विकास आयोजनामा १ करोड ९६ लाख ९६ हजार खर्च भएको छ ।