सुनसरी : इटहरी उद्योग वाणिज्य सङ्घले इटहरी उपमहानगरलाई 'पोर्टेबल सार्वजनिक शौचालय' हस्तान्तरण गरेको छ ।
शुक्रवार (आज) एक कार्यक्रमको आयोजना गर्दै सङ्घले इटहरी उपमहानगरपालिकालाई ‘पोर्टेबल’ सार्वजनिक शौचालय हस्तान्तरण गरेको हो ।
करिब ४० लाख रुपैयाँ लागतमा खरिद गरिएको उक्त ‘पोर्टेबल’ शौचालय ८ थान र मोबाइल शौचालय २ थान रहेको छ । उक्त शौचालय आवश्यकता अनुसार बस जस्तो गुडाएर जहाँ पनि लान सकिने छ । 
कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले इटहरीको दिगो विकास र समृद्धमा निजी क्षेत्रको सहभागिता बिना विकास असम्भव रहेको बताए । उनले एउटा शार्वजनिक शौचालयको काम अन्तिम चरणमा पुगेको बताउँदै इटहरी चौकमा समेत केही दिन अघि अर्को सार्वजनिक शौचालयको शिलान्यास गरेको बताए ।
उनले उवासंघले दिएको ‘पोर्टेबल’ सार्वजनिक शौचालय जहाँ आवश्यकता त्यहाँ अथवा मान्छेको आवतजावत हुने स्थानमा प्रयोग गरिने बताए । यसअघि कोभिड कार्यकालमा उद्योग वाणिज्य सङ्घले गरेको कामको समेत प्रमुख पौडेलले प्रशंसा गरे । 
इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेलले दुई वर्ष अघिदेखि सार्वजनिक शौचालय निर्माण गर्ने अवधारणा ल्याएको दाबी गरे । 
उनले इटहरी पूर्वकै व्यापारिक केन्द्र मात्रै नभई सबै ठाउँमा आवतजावत गर्ने मुख्य बजार भएको बताउँदै सार्वजनिक शौचालयको महत्त्व रहेको तर्क गरे । 
अघिल्लो इटहरी सरकारलाई पटक पटक अनुरोध यस बारे कुनै वास्ता नगरेको टिप्पणी गर्दै आफूहरू इटहरीको विकासमा चिन्तित रहेकाले सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश १ का सांसद लिलम बस्नेत, नेकपा एमाले इटहरी उपमहानगर कमिटी अध्यक्ष याम कुमार सुब्बा, नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी लगायतको उपस्थिति रहेको थियो ।