विराटनगर : केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका सन्दर्भमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति समेत दिएका छन् । 
विज्ञहरूले नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा अवगत गराएका छन् । विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तरगत आयोजना सञ्चालन गर्न सकिने बताए। नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी शौन्दर्यकरणका लागि आयोजना सञ्चालन गरिने प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताए । 
कार्यक्रमको अध्यक्ष समेत रहेका मन्त्री कार्कीले वृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वयन हुने गरी केशलिया कोरिडोर निर्माण गरिने बताएका छन् । केशलिया नदिलाई सौन्दर्यीकरण गर्ने अभियानले विकासको नयाँ स्वरूप देखाउने मन्त्री कार्की बताउँछन् । ‘हामीले विराटनगरमा नयाँ योजना गर्दै छौँ भने आसपासका पालिका र स्थानीय तह पनि समेट्न’ पर्दछ । त्यो विकासको मोडालिटि विकेन्द्रित हुन्छ । मन्त्री कार्कीले भने, स्थानीय तहको समेत सहभागितामा कोरिडोरको निर्माण थालिने छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले परियोजनालाई सम्पन्न बनाउन प्रदेश सरकार लागि पर्ने बताए । अघिल्लो सरकार हुँदै आयोजना निर्माणको कार्य थालनी गरिने बताएको भए पनि अस्थिरताका कारण सुरु हुन नसकेको उनको भनाई छ ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोक्सम, प्रदेश सचिव, विराटनगर महानगरका मेयर नागेश कोइराला, सुनसरी तथा मोरङका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगाएर सरोकारवाल निकायका प्रमुखका प्रतिनिधिको सहभागिता रहेको थियो । 
आर्थिक वर्ष २०७९/८०को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत सङ्घीय तथा प्रदेश सरकारले बजेटको विनियोजन गरेपछि केशलिया कोरिडोर निर्माणको प्रक्रिया थालिएको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहबी नगरपालिका, बर्जू गाउँपालिका सीमा क्षेत्र भएर बहने नदी हो । 
दुवै किनारमा कोरिडोर निर्माण गरी र बस्तीलाई संरक्षण गर्न पनि कोरिडोर आवश्यक रहेको तथा विपद्बाट नागरिकलाई सुरक्षित बनाउनका लागि व्युटिफिकेसन सहितको कोरिडोर निर्माणको काम दुई महिनाभित्रै तयार भएको हो । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपदबाट मुक्त हुनका साथै व्युटिफिकेसनले सो ठाउँको पर्यापर्यटनको विकासमा टेवा पुग्नेछ ।
keshaliya-river