धरान : चर्चित ह्विस्की 'द हिमालयन रिजर्भ'ले आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा धरानका प्रसिद्ध गल्फ खेलाडी शुक्रबहादुर राईलाई नियुक्त गरेको छ। धरानका युवा गल्फर राई नेपालका नम्बर १ गल्फर हुन् ।
'द हिमालयन रिजर्भ' एक उत्कृष्ट १२ वर्ष पुरानो इम्पोर्टेड स्कच माल्टबाट र स्कटिश ग्रेन स्पिरिटहरुको मिश्रण गरी तयार गरिएको प्रिमियम ह्विस्की हो । यद्यपि द हिमालयन रिजर्भ केवल एक ह्विस्की मात्र नभई साहस र रोमाञ्चकताको प्रतीक पनि हो । द हिमालयन रिजर्भले सुरुवात देखी नै त्यस्ता व्यक्तिहरूको साथ दिँदै आइरहेको छ जसले चुनौती देखी कहिल्यै हार नमानी सधैँ आफ्नो सपना पुरा गर्न प्रयत्नशील रहन्छन् । सधैँ झैँ यस पटक पनि एक साहसिक खेलाडीको सपना पुरा गर्न सहकार्य गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शुक्रबहादुर राई हाल नेपाली गल्फ खेलकुद जगतमा चिरपरिचित नाम हो। स्कुले जीवनमा केही रुपैंया कमाउने आशामा केडी बोइ बनेर गल्फ खेलमा आफ्नो करियर सुरु गरेका उनी हाल नेपालको सबैभन्दा सम्भावना बोकेका खेलाडीको रूपमा चिनिन्छन् । विश्व खेलकुद जगतमा गल्फ खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने उनको सपना हाल पुरा भएको छ तर आफ्नो र नेपालको नाम विश्वभरि नै चम्काउने उनको सपना अझै पनि पुरा हुनै बाँकी छ ।
"गल्फर शुक्रको यस साहसिक र चुनौतीपूर्ण यात्रामा हामी पनि एक सहयात्री भई उनीसँगै अघि बढ्दै उनको हरेक चुनौती र अवसरहरूलाई समर्थन र सहयोग गर्ने प्रण गर्दै जति पनि युवा पुस्ता खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाउन अग्रसर छन्, उनीहरूको समेत लक्ष्य प्राप्तिमा सहयोग गर्ने हाम्रो प्रतिबद्धता गर्दछौँ " कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सूर्य नेपाल गल्फ टुरको पछिल्लो ३ उपाधि जितेका राई प्रोफेसनल गल्फ टुर अफ इण्डियामा समेत छनौट भएका थिए।
































































