धरान : धरान उपमहानगरपालिकाको स्थानिय तहको निर्वाचन पछि सोमबार भएको पहिलो   कार्यपालिका बैठक आगामी जेठ २६ गते सम्मका लागि स्थगित भएको छ । 

आज बिहान ११ बजे देखि बस्ने भनिएको कार्यपालिका बैठक निर्धारित समय भन्दा १ घण्टा ढिलो गरी सुरु भएको थियो । आज महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल सुरु भएको भए पनि समय अभावको कारण बैठक स्थगित गरिएको हो ।

बैठकमा सञ्चारकर्मीलाई लाइभ गर्न दिएपछि बैठक कक्ष निक्कै भिडभाड थियो । अव्यवस्थित भिडभाडले गर्दा बैठकमै समस्या भएको थियो । बैठकमा विविध सहित ९ वटा एजेन्डा नगर प्रमुख हर्क साम्पाङले प्रस्तुत गरेका थिए । उनले प्रस्ताव गरेका एजेन्डाहरू क्रमशः पारित हुँदै जानेक्रममा प्रस्ताव नं ६ को नदी जन्य पदार्थ उत्खनन गर्ने सम्बन्धमा निकै चर्काचर्की भएको थियो । 

धरान उपमहानगरपालिकाको सर्दु, सेउती र अधेरी खोलाबाट ढुङ्गा बालुवा उत्खनन नगर्ने भनेर मेयर साम्पाङले आफ्नो धारणा प्रस्तुत गरेका थिए । मेयरको यो धारणामा खोलाबाट बालुवा गिट्टी उत्खनन गरिएन भने भोलि खोला उच्च भई धरानवासीलाई बाढीको जोखिम बढ्ने भन्दै कार्यपालिका सदस्यहरूले खोलाको अवस्था हेरेर खोलाबाट ढुङ्गा, बालुवा, गिट्टी निकाल्नुपर्ने बताएका थिए ।

यही विषयमा निकै लामो बहस र चर्काचर्की समेत परेपछि बाकी एजेन्डामा आज छलफल गर्न नभ्याइने भन्दै समय अभावको कारण देखाई बैठक आगामी जेठ २६ गते दिउसो २ बजे पछि बस्ने गरी स्थगित भएको हो ।