धरान : नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच वर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ । यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनावी सभाको कार्यक्रमबारे जानकारी गराउन बुधवार आयोजित पत्रकार सम्मेलनमा पाँच वर्ष भरी गर्ने कामको विवरण पनि सार्वजनिक गरेको हो ।
निर्वाचन परिचालन मूल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच वर्ष सम्म एमालेले गर्ने कामबारे जानकारी गराए । एमालेले २०७४ को स्थानिय तहको निर्वाचनमा विजय हासिल गरी सकेपछि समृद्ध धरान बनाउने सङ्कल्पको साथ चुनावमा होमिएको बताए । विगतमा एमालेबाट विजयी जनप्रतिनीधिहरुले गरेको कामले पार्टीको शिर उठेको मात्र हैन, मतदाताहरूको सम्मान पनि भएको उनको भनाई थियो । एमाले नेतृत्वको स्थानीय सरकारले ८० प्रतिशत भन्दा बढी काम गरिसकेको तर उपनिर्वाचनमा एमालेलेको नेतृत्व गुमेको कारण अढाई वर्ष धरानले गति लिन नसकेको उनले पत्रकार सम्मेलनमा स्पष्ट पारे ।
'अहिले हामीले प्रतिबद्धता जाहेर गरिरहँदा यहाँका नियमित हुने कामहरू त छदै छन् ती बाहेक धरानलाई साँच्चै समृद्ध बनाउनका निमित्त ठुला मेघा प्रोजेक्टहरू सञ्चालन गर्नुपर्छ ।' -उनले भने ‘जसले सदियौँ सम्म धरानको आर्थिक समृद्धिको र आर्थिक आधार निर्माण गर्न सक्दछन् भन्ने एउटा निष्कर्षका साथ हामीले सामान्य भाषामा भन्दा गेम चेन्जिङ प्रोजेक्ट हुन सक्छन् भनेर केही प्रोजेक्टहरू अगाडी सारेका छौ । यिनलाई केन्द्र भागमा राखेर निर्वाचनमा होमिएका छौ ।’
एमाले प्रदेश नम्बर १ मै धरानलाई खेलकुदको हब बनाउने योजना अघि सारेको छ । त्यसका लागि पूर्वाधार विकासका योजना अघि सार्ने बताएको छ। निर्माणाधीन बस पार्कलाई पनि एमालेले पहिलो प्राथमिकतामा राखेको छ । सप्तरङ्गी पार्कलाई प्रदेश नं १ कै गन्तव्य हुन सक्ने गरीको डिजाइनमा विकास गर्ने योजना रहेको छ । यस्तै गरी शिवजंट्टाको सौन्दर्यीकरण त्यसको विकास र विस्तार, बिष्णुपादुका, कोका खोलामा ड्याम र त्यहाँ बोटिङलगायतको प्रोजेक्ट छ त्यसलाई सम्पन्न गर्ने एमालेले योजना ल्याएको छ । सुरु गरिएको औद्योगिक ग्राम त्यसलाई पूरा गर्ने छ । व्यवस्थित आधुनिक सहरको नमुनाको रूपमा बनाउनु पर्ने आधारभूत कुराको व्यवस्थापन गर्ने जनाएको छ ।
यस्तै ४ नम्बर वडामा मनमोहन पार्क सुरु गरेको र त्यसलाई पुरा गरी ग्रामीण पर्यटनलाई सुदृढ गर्ने उल्लेख गरेको छ । तारे भीरमा रक क्लाइमिङको डिपीआर तयार गरिसकेको र निकट समयमै रक क्लाइमिङ सञ्चालन गर्ने योजना ल्याएको छ । धरानमा केबलकार सञ्चालकको पनि योजना ल्याएको छ । निर्माणाधीन आदिवासी जनजाति संग्राहलयलाई पुरा गर्ने, ठुला प्रोजेक्टहरूलाई पीपीपी सीपको मोडलमा विभिन्न क्षेत्रको लगानीमा काम गर्ने योजना बनाएको छ । ‘नगरपालिकाको आफ्नो लगानीले मात्र सम्भव छैन । हामी सामूहिक निजी साझेदारीको माध्यमबाट यी कामहरू पुरा भइसके पछि धरानको दीर्घकालीन आर्थिक आधार बन्छ । यसमा फोकस भएर हामी जान्छौ ’–सुवेदीले भने ।
ड्रिम प्रोजेक्टहरूलाई केन्द्रबिन्दुमा राखेर पूर्वाधारहरूलगायतको काम गरेर जाने योजना रहेको उनले बताए ।
प्रस्तावित ठुला परियोजनाहरु :
धरान खेलग्राम
निर्माणाधीन स्मार्ट बसपार्क
सप्तरङ्गी पार्क धरान-१७
शिवजट्टाको सौन्दर्यीकरण र पर्यटकीय पूर्वाधार विकास
किरातकालीन विजयपुर दरबार पुनर्निर्माण
औद्योगिक ग्राम धरान–६
विष्णुपादुका मन्दिर क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास
कोकाहा ड्याम धरान–२०
मनमोहन पार्क हर्दिया धरान–४
तारे भिर रक क्लाईम्विंग धरान–२०
केबलकार
आदिवासी जनजाति बहुजातिय संग्राहलय
        
                    
        
                                        
                                                                                                
        
                
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































