धरान : धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक धरान मेघा कलेज आफैले कब्जा जमाएको छ।  शनिवार भएको फाइनल खेलमा एम्सलाई ४८-३० अङ्कको अन्तरले पराजित गर्दै धरान मेघाले उपाधि माथि कब्जा जमाएको हो ।

धरान मेघाले पहिलो, दोस्रो र तेस्रो क्वाटरमा ८-४, १४-६ र १४-५ अङ्कको अन्तरले अग्रता लिएको थियो । चौथो क्वाटरमा भने १२-१५ अङ्कको फरक रहेको थियो । फाइनल खेलमा धरान मेघाको तर्फवाट युवाहाङ राईले व्यक्तिगत १४ अङ्क जोडे ।

उपाधिसँगै धरान मेघाले नगद पन्ध्र हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एम्स कलेजले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिजेताहरु कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु, नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ राईका बुवा रेवतीरवण राई, नेपाल ख्रिष्टीयन समाजका केन्द्रीय सचिव कुवेर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी धरान मेघाका योगेश राई घोषित भए । उनले नगद एक हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र र फुड भौचर प्राप्त गरे । प्रतियोगिताका अवधिभर व्यक्तिगत ५९ अङ्क जोड्दै हाइ स्कोररका उपाधि सियोन स्कुलका साहिल तामाङले जिते । उनले नगद एक हजार रुपैयाँ, ट्रफि, फुड भौचर र प्रमाणपत्र प्राप्त गरे । उदीयमान खेलाडीको उपाधि सियोन स्कुलका पारुहाङ राई घोषित भए । उनले ट्रफि, फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो । थ्री पोइन्टको उपाधि भने धरान मेघा कलेजका गगन राई र योगेश राईले जितेका छन । उनीहरूले एक मिनटमा समान ७-७ बास्केट गर्दै उपाधि वाडेका थिए । उनीहरूले नगद दुई हजार रुपैयाँ, ट्रफि, फुड भौचर र प्रमाणपत्र प्राप्त गरे ।  

दिवङ्गत बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा चैत्र १५ गते देखि प्रतियोगिता सुरु भएको हो । डिपो स्कुलका विद्यार्थी रहेको रेवाहाङको स्मृतिमा कार्यक्रमको प्रस्ताव लिएर जाँदा विविध कारण देखाउँदै डिपो स्कुलले अस्वीकार गरेको कार्यक्रममा मन्तव्य दिने क्रममा रेवाहाङका अभिभावक रेवतीरवण राईले बताए । सोही प्रस्ताव लिएर जाँदा धरान मेघा कलेजले सहज रूपमा स्वीकार गरेको बताउँदै आयोजक धरान मेघा कलेज र बास्केटबल सङ्घलाई उनले धन्यवाद दिए ।

कलेजले अतिरिक्त क्रियाकलापमा विशेष प्राथमिकता दिएको बताउँदै दिवङ्गत रेवाहाङ उदयमान बास्केटबल खेलाडीलाई सम्मान तथा खेलाडीहरूलाई प्रोत्साहन गर्न पाउँदा धरान मेघा कलेज खुसी भएको कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले मन्तव्यको क्रममा बताए ।

प्रतियोगिता धरान मेघा कलेजको आयोजना, धरान बास्केटबल सङ्घको संयोजन तथा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । प्रतियोगिताको सम्पूर्ण खेल आयोजक धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।

प्रदेश १ मा चाडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि गर्ने : मुख्यमन्त्री राई

CM
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ मा चाडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि गर्ने बताएका छन् । शनिवार धरानमा आयोजित रेवाहाङ राई स्मृति अन्र्तविद्यालय बास्केटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले खेलकुद विकासमा प्रदेश सरकार गम्भीर भएको बताए ।

बोर्ड गठन नभएका कारण खेल गतिविधि गर्न नसकेको बताउदैं चाडै बोर्ड गठन गरेर खेलकुद गतिविधि गर्ने बताए । उनले स्व.रेवाहाङ राईको सम्झनामा उनका बुवा रेवतीरवण राई र माता सुजता राईले कोष निर्माण गरिदिएर बास्केटबल खेलका लागि योगदान दिएकोमा धन्यवाद समेत दिए । स्व. रेवाहाङ राई स्मृति अन्र्तविद्यालय बास्केटबल प्रतियोगिताको आगामी वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने पनि उनले बताए ।

कार्यक्रममा नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा लगायतले बोलेका थिए । बास्केटबलका उदयमान खेलाडी रेवाहाङको डिपोट उच्च मावि कक्षा ९ मा अध्ययन गदै गर्दा उनको असामयिक निधन भएको थियो ।