धरान : नेपाल नागरिक समाज सुनसरीले धरानमा दैनिक उपभोग्य खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरूको कृत्रिम अभावको सृजना गरी आफूखुसी मूल्यवृद्धि गरिरहेको अवस्थामा आम मानिसको जनजीवनमा प्रत्यक्ष रूपमा असर परेको भन्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएको छ।

सोमबार समाजले कोभिड १९ को महामारीमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन माग गर्दै मेयर राईलाई ज्ञापन पत्र बुझाएको हो । मेयर राईले ज्ञापन पत्र बुझ्दै उपमहानगरपालिकाले नियमित रूपमा अनुगमन गर्ने कार्य गरिरहेको जानकारी दिए ।

कोरोना महामारीको बिचमा पनि उद्योग वाणिज्य सङ्घ र केन्द्रीय प्रविधि क्याम्पसका प्रतिनिधिसँग समन्वय गरेर तालिका बनाएर बजार अनुगमनलाई निरन्तरता दिइरहेको मेयर राईले स्मरण गराए । आगामी दिनमा बजार अनुगमनमा जाँदा नेपाल नागरिक समाजसँग पनि समन्वय गरेर अगाडी बढ्ने मेयर राईले प्रतिबद्धता समेत व्यक्त गरे । मेयर राईले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग पनि सहकार्य गरेर धरानका केही वडाहरूमा सचेतनामूलक तालिम दिनुका साथै उपभोक्तालाई पनि सचेत गराएको जानकारी गराए ।

समाजका कार्यवाहक अध्यक्ष दिवस पोख्रेलले कोभिड १९ को महामारीमा जनताले अझ सहज र सुलभ तरिकाले दैनिक उपभोग्य सामाग्रीहरू पाउनु पर्ने बताए । उनले सरोकारवाला निकाय, प्रशासन, पत्रकार तथा नेपाल नागरिक समाजको संलग्नतामा चाँडो स्थानीय सरकारको तर्फबाट धरान उपमहानगरपालिकाले बजार अनुगमन गरी उपभोक्ताहरूलाई सहज बनाउन पनि आग्रह गरे ।