धरान : धरानको मुख्य बजार भानुचौक सँग जोडिएको देशी लाइन फराकिलो सडक बनेपछि व्यापारिक केन्द्र बनेको छ । बदलिएको देशी लाइनको व्यवसाय, पसलेहरूको हित प्रवर्धन गर्न उनीहरू संस्थागत रूपमा सङ्गठित भएका छन् । देशी लाइन व्यवसायी समिति नाममा संस्था स्थापना गरिएपछि पहिलो पटक औपचारिक कार्यक्रमको रूपमा सोमवार बनभोजको आयोजना गरी समितिलाई विधिवत् संस्था दर्ता गराउने बारमा छलफल गरिएको छ ।

समितिका अध्यक्ष गङ्गाप्रसाद राईका अनुसार अहिले तदर्थ समिति गठन भएको हो । समितिलाई दर्ता गर्ने विषयमा छलफल भएको छ । केही महिना अघि नै समिति गठन गरी महत्त्वपूर्ण कार्यहरू पनि गरेको उनले बताए । मुख्यतः कोरोना महामारीको बिचमा घरवाला र व्यवसायी आपसी सम्बन्ध सौहार्दपूर्ण बनाउन समिति गठन भएको हो ।
देशी लाइन बजारको सरसफाइमा जनचेतना बढाउन सामुदायिक काममा व्यवासायीहरु बिच सहयोग जुटाउने कार्य पनि समितिले गरेको छ । उनका अनुसार धरान उत्सवमा बजारको प्रवेश र अन्तिम छेउमा दुई गेट बनाएर देशि लाइन बजारलाई प्रवर्धन गरिएको थियो ।

समितिद्वारा इटहरीको तालतलैयामा आयोजित बनभोजका बिच देशी लाइनका युवा समाजसेवी सुुधिर लिम्बुलाई सम्मानित गरियो । सुधीर लिम्बु देशीलाइनमा बसोबास गर्ने संस्थापकहरू मध्ये एक स्वर्गीय समाजसेवी प्रेमसिंह लिम्बुका छोरा हुन् । उनलाई सम्मान पत्र प्रदान गरिएको हो । साथै सोही अवसरमा समाजसेवी वचन जोशीलाई खादा ओढाइन सम्मानित गरिएको थियो । कार्यक्रममा देशि लाइनका व्यवसायी घरबेटीहरू समेत सहभागी थिए ।