इटहरी : सामाजिक क्षेत्रमा सक्रिय इटहरीको बुल्स ११ क्लबले इटहरी बजार क्षेत्रमा निःशुल्क मास्क वितरण गरेको छ।

इलाका प्रहरी कार्यालय इटहरी सँगको सहकार्यमा तपाइको मास्क खोइ अभियान अन्तर्गत क्लबले आज इटहरी बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने झण्डै चार सय जनालाई मास्क वितरण गरेको हो।

कोरोना भाइरसको तेस्रो लहर फैलिएको अवस्थामा मास्क नलगाई हिँड्ने उनीहरूलाई मास्क लगाउन प्रोत्साहन गर्दै निःशुल्क मास्क वितरण गरिएको क्लबका उपाध्यक्ष रामु राईले जानकारी दिए । गत तीन वर्षदेखि प्रत्येक साताको शनिवार इटहरी तथा आसपासको क्षेत्रमा सरसफाइ गर्दै आएको बुल्स इलेभेन क्लबले केही समय सरसफाइ अभियानलाई थाती राख्दै जनचेतनामूलक काम गरिएको उपाध्यक्ष राइको भनाई छ।

क्लबका पदाधिकारी तथा सदस्यहरू र प्रहरीको टोली सम्मिलित समूहले इटहरीको धरान लाइन, मुख्य चौक, सङ्गीत चौक, लगायतको क्षेत्रमा मास्क वितरण गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिएको अवस्थामा थालिएको यस्तो अभियान फलदायी हुने र यसलाई निरन्तर जारी राख्नको लागि सबै क्षेत्रको साथ सहयोग हुनुपर्ने क्लबका उपाध्यक्ष राईले बताए।