धरान : घर नक्सा पास गर्ने प्रक्रिया पुरा नगरी धरानमा धमाधम फलामे फ्रेम हालेर घर, पसल, कवल बनाउन थालिएकोले त्यसलाई उपमहानगरपालिकाले घरनक्साको दायरामा ल्याउने भएको छ। त्यस्तो संरचना भूकम्प प्रतिरोधी भए नभएको प्राविधिक अनुगमन नहुँदा भवन संहिता विपरीत निर्माण भएकाले भवन संहिताको दायरामा ल्याइने भएको हो।

२४ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा आइतबार मेयर तिलक राईले भने ‘उपमहानगरपालिकाले फलामे फ्रेमका घरहरूलाई घरनक्साको दायरामा ल्याउन निर्देशिका बनाउँदै छ।’ उनका अनुसार घर नक्सा पास गर्ने प्रक्रियाबाट बच्न धरानमा फलामे फ्रेमको घर बनाउने चलन बढेको देखिएको छ। त्यसरी बनेको घर भूकम्प प्रतिरोधी भवन संहिता अनुसार बनाउन निर्देशिका लागु गर्न लागिएको उनले बताए।

भूकम्प प्रतिरोधी घर निर्माण गर्न भवन संहिता लागु भएकोले २०७२ सालको महाभूकम्पमा धरानमा ठुला क्षति हुन नपाएको बताउँदै उनले ‘पुराना घर संरचना भूकम्पले प्रभावित गरे पनि भूकम्प प्रतिरोधी भएकाले नयाँ भवनहरू क्षति भएनन् ।’ पछिल्लो समय उपमहानगरपालिकामा गाभिएका पाँचकन्या, विष्णुपादुकामा नक्सा पास नभएका अधिकांश घरहरू छन् । ती घरहरूलाई भूकम्प प्रतिरोधीको दायरामा ल्याइने उनले बताए।

सुकुम्वासीको रूपमा अव्यवस्थित बसोबास धरानले व्यहोर्दै आएको समस्या हो, यो समस्या सँगै सुकुम्वासी क्षेत्रमा बनेका घरहरू भवन संहिता लागु गर्न चुनौती बनेको उनले बताए। धरानमा भूकम्पको जोखिम भन्दा धेरै बाढि पहिरोको रहेको बताउँदै सर्दु, सेउती, खहरे खोलाको अतिक्रमणसँगै मानवीय बसोबास बढेकोले प्राकृतिक प्रकोपका घटना खोला छेउछाउ बढेकोमा उपमहानगरपालिका गम्भीर रहेको उल्लेख गरे।

धरान उपमहानगरपालिका भवन संहिता लागु गर्ने उपत्यका बाहिरको पहिलो नगरपालिका हो । २०५२ साल देखी धरानमा भूकम्प प्रतिरोधी घर निर्माणको नियमानुसार घर नक्सा पास गर्ने नीति कार्यान्वयनमा छ। तर, सुकुम्वासी बाहेक धरानका मुख्य बजार क्षेत्रमै नक्सा पास नगरी, प्राविधिक प्रामाणिकता बिना फलामे फ्रेममा दुई तिन तला सम्मका घर, व्यापारी भवनहरू धमाधम बन्न थालेका छन् । त्यसमा उपमहानगरपालिको ध्यानाकर्षण भएको हो ।

इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमले भनिन् ‘प्राविधिक रूपमा बलियो घर बनाउने कुरामा नगरपालिका भन्दा नागरिक सचेत हुनुपर्ने हो ।’ तर नगरपालिकामा पेस गरेको नक्सा अनुसार घर नबनाउने, एक तलाको नक्सा पेस गरेर ३ तलाको घर बनाउने अनि प्राविधिकले घर बनेको प्रमाणपत्र दिएन भन्दै गुनासो जनप्रतिनिधिहरू सँग गर्ने गरिएको उनले बताइन् ।

स्थानीय भवन निर्माण व्यवसायी सङ्घका अध्यक्ष नारायण लिम्बुले धरानमा भवन संहिता लागु गर्न स्थानीय भवन निर्माण व्यवसायीहरूले उपमहानगरपालिका सँग सहकार्य गर्दै आएको बताए । विपद् व्यवस्थापन समिति सँग भूकम्प सहित मानवीय विपद्का बारेमा विद्यालय तहबाटै सचेतना बढाउन पाठ्य क्रममा नै पाठ्यांश राख्न धरै पटक छलफल भएको बताउँदै भने ‘स्थानीय सरकारहरूको सहकार्यमा त्यसलाई कार्यान्वयन गर्न ढिलाइ भैसकेको छ।’

पत्रकार महासङ्घका सभापति जनक ऋषि राईले भूकम्प प्रतिरोधक भनिएका घरहरू भूकम्पमा भत्किए प्राविधिकहरूलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने बताए । अहिले सम्मको विश्वकै तथ्याङ्क अनुसार भूकम्पमा मानवीय क्षति हुनका मुख्य कारण भवन, घरहरू भत्किनु नै भएको पाइएको छ। पछिल्लो समय भूकम्प प्रतिरोधक भवन, घर बनेका मुलुकहरूको तुलनामा परम्परागत भवनहरू भएका देशमा धेरे जनधनको क्षति भएको छ। नेपाल भूकम्प जोखिममा पर्ने मुलुक भएकाले यसबारे सचेतना बढाउन नेपालमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो।

नेपाल रेडक्रस सोसाइटीको संयोजनमा भएको सुनसरी जिल्ला स्तरीय भूकम्प सुरक्षा दिवस जिल्ला विपद् व्यवस्थापन समितिले आयोजना गरेको हो । कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका थिए। स्वागत भाषणको क्रममा रेडक्रस सभापति मुकेश थापाले विपद् व्यवस्थापन समितिको गतिविधिका बारेमा प्रकाश पारेका थिए।