सुनसरी : सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबलको उपाधि धरान फुटबल क्लबले जितेको छ।

इटहरी रङ्गशालामा आज आइतबार सम्पन्न फाइनल भिडन्तमा धरानकै गोधुली क्लबलाई सडेन डेथमा पराजित गर्दै धरानले उपाधि जितेको हो । उपाधिसँगै प्रदेश लिगको लागि समेत छनौट भएको धरान फुटबल क्लबले नगद ५० हजार रुपैयाँ हात पारेको छ भने उपविजेता गोधुली क्लबले नगद २५ हजार रुपैयाँमा चित्त बुझाएको छ।

इटहरी रङ्गशालामा आज आइतबार भएको फाइनलमा निर्धारित ९० मिनेट र त्यसपछिको १५ मिनेट थपिएको अतिरिक्त समयमा समेत दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउट समेत दुवै टिमले ५-५ गोलको बराबरी खेलेपछि खेलको निर्णय सेनडेथबाट लिइएको हो । सडेनडेथमा गोधुलीका निमा शेर्पाको प्रहार बाहिरिनु नै उसका लागि दुर्भाग्य बन्दा धरान फुटबल क्लबका सुबेश राईले गोल गर्न सफल भएपछि धरानको भाग्य चम्किएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच गोधुली क्लबका सबिन राई घोषित भए । विधागत पुरस्कारतर्फ धरान फुटबल क्लबकै वर्चस्व रह्यो। धरान फुटबलका क्याप्टेन रिवश मास्के उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । धरानकै राजीव खड्का उत्कृष्ट गोलकिपर र सागर घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए।

गोधुली फुटबल क्लबका सुशील राई उत्कृष्ट मिडफिल्डर, राष्ट्रिय जागृति क्लब इटहरीका अनिष चौधरी उत्कृष्ट डिफेन्स, न्यु स्टार क्लब वराहक्षेत्रका सन्दीप श्रेष्ठ उत्कृष्ट स्टाईकर घोषित भए। उनीहरू सबैले जनही ३ हजार ५ सय नगद पुरस्कार पाए । सुनसरी जिल्ला फुटबल सङ्घका आयोजनामा सम्पन्न लिगमा सुनसरीका आठ टिमले प्रतिस्पर्धा गरेका थिए।