धरान : राष्ट्रिय जागृति क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरीय 'ए' डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरूमा जित निकाल्दै समूह 'ख' बाट समूह विजेता र उपविजेता बन्दै दुवै क्लब सेमिफाइनल प्रवेश गरेका हुन । यो सँगै जिल्ला लिगको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।

अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहीबार पहिलो खेल खेल्दा सोही दिन राष्ट्रिय जागृति क्लबले धरानको गोधुली फुटबल क्लबसँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ।

इटहरी रङ्गशालामा मंगलबार भएको पहिलो खेलमा राष्ट्रिय जागृति क्लबले लगातार तेस्रो जीत निकाल्ने क्रममा धरानको ट्याम्के क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै समूहको शीर्ष स्थान सहित सेमिफाइनल प्रवेश गरेको हो । उसको जितमा म्यान अफ द म्याच निकेष तामाङले खेलको २१ औँ मिनेटमा गोल गर्दा स्मित तामाङले २५ औँ मिनेटमा गोल गरे ।

मंगलबार नै भएको दोस्रो खेलमा धरान फुटबल क्लबले इटहरी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै समूह उपबिजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ। धरानको जितमा सुगम जीमी र रिवश मास्केले एक-एक गोल गरे । जीमीले खेलको १९ औ र मास्केले २९ औँ मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच रिवश मास्के घोषित भए ।

उनलाई प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराई र समाजसेवी तीर्थ पराजुलीले नगद १ हजार ५ सय र मेडल प्रदान गरे । अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ।